काठमाडौं । नेपाल ‘ए’ टीम आयरल्याण्ड वुल्भ्ससँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज शनिबार भएको खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएको हो ।
जीतका लागि २२५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १८४ रनमा सीमित भयो ।
नेपालको आजको हारसँगै जारी टी–२० शृंखला आयरल्याण्ड वुल्भ्सले एक खेल अगावै जितेको छ । शृंखलाको पहिलो खेलमा आयरल्याण्ड वुल्भ्स २१ रनले विजयी भएको थियो ।
नेपालका लागि देव खनालले २५ बल खेल्दै ७ चौकाको सहयोगमा ४७ रन बनाए भने बसिर अहमदले २७, बिनोद भण्डारीले २६, लोकेश बमले २५ रनको योगदान दिए ।
आयरल्याण्ड वुल्भ्सका लागि वेन ह्वाइटले ३ विकेट लिए भने फिओन ह्याण्ड र थोमस माएजले २–२ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२४ रनको विशाल योगफल तयार पारेको थियो ।
उसका लागि निल रकले अविजित ७१ रन बनाए । उनले ३४ बल खेल्ने क्रममा ७ छक्का र १ चौका प्रहार गरे । पिटर मूरले ६५ रन बनाए । उनले ७ छक्का र ३ चौका प्रहार गरे । त्यसबाहेक जेम्स म्याकोलुमले २६, रोद अदिरले १७ , फिओन ह्याण्डले १९ रनको योगदान दिएका थिए ।
नेपाल ‘ए’का लागि सागर ढकालले ३ विकेट लिए भने कमल ऐरी, पवन सर्राफले १/१ विकेट लिए । शृंखलाको तेस्रो खेल आगामी सोमबार हुनेछ ।