काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी उपनिर्वाचनमा उम्मेदवारलाई अनावश्यक खर्च नगर्न आग्रह गरेका छन् ।
काठमाडौं–बझाङ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको बझाङ जिल्ला प्रदेशसभा (१) को उपनिर्वाचनको विशेष भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनलाई खर्चिलो नबनाउन आग्रह गरे ।
पार्टीको चुनाव भएकाले पार्टीका साथीहरू खट्नुपर्ने भन्दै उनले चुनावमा हरेकलाई आफ्नो तर्फबाट योगदान गर्न निर्देशन दिए ।
‘मेरो निर्वाचनमा म बिहान खाना खाएर हिँड्छु र साथीहरूलाई पनि खाना आएर आउन भन्छुु,’ उनले भने, ‘चुनावमा खुवाउन पियाउन हुँदैन । चुनाव मेरो मात्र हो र ?’
उनले यसपटकको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्न नसक्ने दाबी गरे । अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा एमालेले जित्ने दाबी गरेका छन् ।
उनले चुनावको बेलमा कुनै पनि नेता र उम्मेदवारको आलोचना वा टिप्पणी नगर्न आग्रह गरे । केही असन्तुष्टि छन् भने चुनावपछि छलफल गरिने उल्लेख गर्दै पार्टीभित्र एकता र विरोधीसँग प्रतिस्पर्धा गर्न उनले निर्देशन दिए ।
‘पार्टीभित्र असन्तुष्टि छ भने चुनावपछि छलफल गरौंला । चुनावसम्म एकअर्कामा आलोचना, टिप्पणी, उम्मेदवारको सम्बन्धमा कुनै प्रकारको टिप्पणी हुनु हुँदैन,’ उनले भने ।
उनले आन्तरिक एकता गर्दै विपक्षीसँग प्रतिस्पर्धा गर्न आग्रह गरे । उनले निर्वाचनको समयमा नेता तथा कार्यकर्तालाई आचारसंहिता पालना गर्न समेत निर्देशन दिए । बझाङको प्रदेशसभा (१) का उम्मेदवार दमनबहादुर भण्डारीले एमालेविरुद्ध यसपटक गठबन्धन नभएकाले जित्ने बताए ।