काठमाडौं । बाँझोपना अर्थात् निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरुले औँल्याएका छन् ।
जीवनशैलीमा आएको परिवर्तन, विवाह ढिलो गर्नु, वैदेशिक रोजगारका कारण दम्पतीबीच पर्याप्त सम्भोगको अभाव र कतिपय दम्पत्तीको स्वास्थ्यका कारण निःसन्तानको समस्या देखिएको चिकित्सकहरुको भनाइ छ ।
दमकमा विगत १६ वर्षदेखि महिलाको प्रसूति सेवा दिँदै आएको ॐ मेची अस्पतालका स्त्रीरोग विशेषज्ञ डा शङ्करप्रसाद हुजदार निःसन्तान हुने समस्या बढेको बताउछन् । उनका अनुसार सरदर १० देखि १४ प्रतिशत जोडीमा निःसन्तानको समस्या देखिने गरेको छ । तीमध्ये करिब सात प्रतिशतमा भने निःसन्तानको समस्या अर्थात् बाँझोपनाका कारण नै पत्ता लाग्न नसकिरहेको पनि हुजदारले सुनाए ।
उनले स्वास्थ्यका दृष्टिकोणबाट सबै ठिकठाक हुँदाहुँदै पनि सन्तान नहुने समस्या देखिएको र त्यसका कारण यही नै हो भन्ने यकीन अझै नहुन नसकेको बताए । यो अलि अप्ठ्यारो विषय पनि भएको बताउँदै उनले भने, “दम्पतीमा निःसन्तान हुने समस्या नेपाली समाजमा बढेको छ, यसमा हाम्रो ध्यान पुग्न सकेको छैन ।” ॐ मेची अस्पताल प्रसूति सेवामात्र उपलब्ध गराउँदै आएको जिल्लाकै एक पुरानो स्वास्थ्य संस्था हो ।
सो अस्पतालमा डा हुजदारसहित अर्का स्त्रीरोग विशेषज्ञ डा निरञ्जनसिंह बोगटीसहितका आधा दर्जन चिकित्सकको टोली संलग्न छ । सो अस्पतालले मासिक पाँच सय सङ्ख्यामा प्रसूति सेवा दिँदै आएको अस्पतालका अध्यक्षसमेत रहेका डा बोगटी बताउछन्। उनका अनुसार परीक्षणमा आएका करिब १५ प्रतिशत जतिमा दम्पतीमा बाँझोपनाको समस्या देखिएको छ ।
जीवनशैलीमा आएको परिवर्तन, पत्रुखानाको सेवन, मदिरापान, सुर्तिजन्य पदार्थको सेवन र असुरक्षित यौनसम्पर्कका कारण पनि महिला तथा पुरुषमा बाँझोपनाको समस्या देखिएको बताए। किशोर अवस्थामै प्रेमीप्रेमिकाबीच असुरक्षित यौनसम्पर्कका कारण पटकपटक गर्भ तुहाउने, यौन रोगलगायतका स्वास्थ्य समस्याले पनि बाँझोपना देखिएको उनको भनाइ छ ।
उनले सन्तान जन्माउने उमेरमा बिहे नगर्ने चलन बढ्दै जानु र उमेर ढल्किँदा बिहे गर्ने कारणले पनि दम्पतीबीच बाँझोपनाले निःसन्तानको समस्या आएको हुनसक्ने बताए ।
निःसन्तानको समस्या न्यूनीकरण गर्न बाँझोपनाको समस्या झेल्दै आएका अभिभावकले स्वास्थ्य उपचारमा जोड दिनुपर्ने उनी बताउछन् । निःसन्तान हुन कसैको दोष नभएर आफ्नै समस्याका कारण यस्तो समस्या हुँदै आएको भए पनि अब भने निःसन्तान हुनु नपर्ने तथा स्वास्थ्य उपचारका वैकल्पिक उपाय अवलम्बन गर्न सकिने उनको भनाइ छ ।