वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा सवारीसाधनको जरिवानाबापत डेढ करोडभन्दा धेरै राजस्व संकलन गरेको छ ।
कार्यालयले साउनदेखि फागुन मसान्तसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका १५ हजार ५९१ सवारीसाधनबाट राजस्व संकलन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले ८ महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट १ करोड ५७ लाख ६९ हजार ६०६ रुपैयाँ रकम राजस्व संकलन गरेको बताए ।
‘गत आवको तुलनामा चालू आवको ८ महिनामा जरिवाना बापतको राजस्वको रकम केही घटेको छ,’ उनले भने, ‘अहिले नयाँ टीभीआरएस सिस्टम लागू गरेका छौं । विगतमा अधिकतम जरिवानाबाट सुरुवात गर्ने गरिन्थ्यो तर अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो ।’
ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकको संख्यामा केही कमी आएको उनले बताए ।
कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ट्रकको संख्या ६ हजार ४२५ रहेको छ । ट्रकबाट ८८ लाख १९ हजार २ रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने १३२ बस कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने बसबाट १ लाख ३० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने कार/जीप/भ्यानको संख्या १ हजार ३२४ जना रहेको छ । ती सवारीसाधनबाट १२ लाख २ हजार ५०५ रुपैयाँ रकम राजस्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने २ पाङ्ग्रे सवारीसाधनको संख्या ७ हजार १२ रहेको छ । ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व संकलन भएको छ ।
कार्यालयले गत आवभरिमा ट्राफिक नियम उल्लंघन गर्ने ३५ हजार ५३४ सवारीसाधनलाई कारबाही गरेर ३ करोड ४२ लाख ६५ हजार रकम राजस्व संकलन गरेको थियो ।