हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।
बागमती प्रदेश सभामा उनले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा रहेका ११० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गरेका हुन् । १०८ जना प्रदेशसभा सदस्य उपस्थित भएकोमा उनलाई सत्ता गठबन्धन दल एमालेका २७, माओवादीको २१, एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीका १ गरी ५६ जनाले विश्वासको मत दिएका छन् ।
नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । राप्रपा नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ । राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको ३ मत रहेको छ ।
प्रदेशसभामा हाम्रो नेपाली पार्टीका १ सदस्य अनुपस्थित भएका छन् ।
पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो । नेकपा एकीककृत समाजवादीलाई मुख्यमन्त्री आलोपालो गर्ने सहमतिपछि विश्वासको मत दिन तयार भएको बताइएको छ । २ प्रदेशसभा सदस्य रहेको हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिएका छन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कांग्रेसले विश्वासको मत फिर्ता लिएको चैत २२ गते ३० दिन पुग्दैछ ।
यसअघि पहिलोपटक नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ७० प्रदेशसभा सदस्यको समर्थमा २०७९ पुस २५ गते मुख्यमन्त्री बनेका थिए ।
संघ सरकारमा समीकरण परिवर्तनसँगै उनले दोस्रोपटक २०७९ चैत १० गते विश्वासको मत लिएका थिए । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री जम्कट्टेलले सबैको विश्वासलाई साथमा लिएर प्रदेशबासीको हितमा काम गर्ने बताएका छन् ।