काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ ।
बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाइ सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गरिन् ।
सांसद भट्टराईले पोखरामा चार सयको सङ्ख्यामा रहेका होटलहरुको इजाजत नवीकरण गर्न वातावरण संरक्षण ऐन संशोधन हुन आवश्यक रहेको र काठमाडौँबाट पोखरा जाने सडकअन्तर्गत तनहुँ खण्ड लामो समयदेखि विचाराधीन रहनुले असुविधा भएको गुनासो गरिन् ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुशीला सिर्पाली ठकुरीले जलवायु परिवर्तनसँगै आगलागीलगायत प्राकृतिक विपदका कारण किसानका बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति र राहत दिन माग गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले कारागारहरुमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका विषयमा सरकारको ध्यानाकर्षण गराइन् । नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले मन्त्रीहरुसमेत जोडिएका सहकारीको रकम ठगीका घटनामा संसदीय छानबिन समिति गठन नगरिएको र कृषि क्षेत्रमा लगानी नबढाइएकामा चिन्ता व्यक्त गरिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विना जैसवाल वीरगञ्जको सिर्सिया खोलामा विभिन्न उद्योग र होटेलबाट वातावरण प्रदूषण गरेकाले वातावरण संरक्षण गर्न माग गरिन् । एमालेका सांसद रेखा यादवले दलित बालिबालिकालाई आवासीय विद्यालय सञ्चालन गर्न माग गरिन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सांसद राजेन्द्रप्रसाद पाण्डेले निजामती कर्मचारीलाई निरुत्साहित हुने गरी प्रशिक्षार्थी (उत्प्रेरक) का रुपमा परिचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएको विषयमा प्रश्न गरे ।
सांसद डा अमरेशकुमार सिंहले भ्रष्टाचारका मुद्धामा ठूला नेतालाई बचाउने प्रवृत्तिले कर्मचारीहरुले काम वा निर्णय गर्ने क्षमता कमजोर भएको बताए। नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारी धादिङको रुवी भ्यालीको सडक ३० वर्षदेखि बन्न नसकेकामा चिन्ता व्यक्त गरे ।