काठमाडौं । लुम्बिनी प्रदेशका दुई जिल्ला रुपन्देही र कपिलवस्तुका चार पालिकाले अझै बजेट ल्याउन सकेका छैनन् ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका र कपिलवस्तुको शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन् ।
लुम्बिनीका १०९ स्थानीय तहमध्ये यी चार पालिकाले आन्तरिक कारण देखाउँदै बजेट ल्याउन नसकेका हुन् ।
स्थानीय तहले असार १० गतेभित्रै आगामी आर्थिक वर्षको अनुमानित राजस्व र व्यय (बजेट) सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था भए पनि चारवटा पालिकाले बजेट प्रस्तुत गर्न सकेनन् ।
बजेटको सिलिङबारे जनप्रतिनिधिबीच मतभेद हुँदा कोटहीमाईले समयमा बजेट ल्याउन नसकेको हाे । आइतबार बजेट ल्याउने प्रयास गरिरहेको बताइएकाे छ ।
यशोधरा गाउँपालिकाले नीति तथा कार्यक्रम पास गरिसकेको छ तर बजेट ल्याउन बाँकी नै छ।
शुद्धोधन गाउँपालिकाले साउनको अन्तिमतिर बल्ल बजेट ल्याउने जनाएको छ ।
त्यस्तै, रुपन्देहीको रोहिणी गाउँपालिकाले बिहीबार मात्रै बजेट ल्याएको छ ।
यस्तै रोल्पाको गंगादेव गाउँपालिकाले पनि असार २४ गते मात्रै बजेट ल्याएको थियो।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले स्थानीय तहको बजेट सम्बन्धित नगर तथा गाउँसभामा १० असारभित्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
असार १० गतेभित्र बजेट पेश गर्ने र असार मसान्तभित्र बजेट पारित नगरी साउन १ गतेदेखि कुनै पनि रकम खर्च गर्न पाइँदैन ।