काठमाडौं । भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।
नेपालले आज मंगलबार भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको छ ।
गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १५६ रन बनायो ।
१५७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा भारतको बरोडाले सबै विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । यसअघि पहिलो खेलमा नेपालले भारतको गुजरातलाई ८ विकेटले हराएको थियो ।
बरोडासँगको खेलमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि कुशल मल्लले अविजित ४० रन बनाए । उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन बनाए ।
बलिङतर्फ बरोडाका बाबा खानले २ तथा पारीक्षित पाटीदार र मोहित मोङ्गीयाले १/१ विकेट लिए ।
यसैगरी बरोडाका लागि १२९ रन बनाउने क्रममा भानु पानियाले ३६, बाबा खानले २७ तथा कप्तान विष्णु सोलङ्कीले २५ रन बनाए ।
बलिङतर्फ नेपालका करन केसीले ३, सोमपाल कामी र अभिनाश बोहराले २/२ तथा गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
नेपालले बुधबार दिउँसो २ः४५ बजे भारतको गुजरातसँग आफ्नो तेस्रो खेल खेल्नेछ ।