काठमाडौं । पाकिस्तान प्रहरीले गत हप्ता ५ चिनियाँ इन्जिनीयर र उनीहरूको चालकको ज्यान जाने गरी भएको एक आत्मघाती बम विस्फोटका सिलसिलामा अफगान नागरिकसहित १२ भन्दा बढीलाई पक्राउ गरेको एक वरिष्ठ कानून प्रवर्तन स्रोतले मंगलबार बताएको छ ।
बेइजिङ इस्लामाबादको सबैभन्दा नजिकको क्षेत्रीय सहयोगी हो र पाकिस्तानको कमजोर अर्थतन्त्रमा एक प्रमुख लगानीकर्ता हो तर हालैका वर्षहरूमा चिनियाँ नागरिकहरूलाई प्राय इस्लामिक आतंकवादीहरूले निशाना बनाउने गरेका छन् ।
इन्जिनीयरहरू र उनीहरूका पाकिस्तानी चालक उत्तरपश्चिमी पाकिस्तानमा चाइना गेजुवा ग्रूप कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् बाँधस्थलतर्फ जाँदै गर्दा एक हमलाकारीले उसको सवारी ठोक्काएर विस्फोट गरेको थियो ।
नाम उल्लेख नगर्ने शर्तमा प्रहरी स्रोतले भनेको छ, ‘एक दर्जनभन्दा बढी संदिग्धलाई पक्राउ गरिएको छ, पक्राउ परेकामा केही अफगान नागरिक पनि छन् ।’
इस्लामाबादले पाकिस्तानमा हालै वृद्धि भएका हमलाहरूका लागि छिमेकी अफगानिस्तान जिम्मेवार रहेको दोष लगाएको छ र त्यहाँको तालिबान सरकारमाथि आफूमाथि सहानुभूति राख्ने आतंकवादीहरूमाथि नियन्त्रण गर्न असफल भएको आरोप लगाएको छ ।
काबुलमा तालिबान सरकारले आतंकवादीहरूलाई सुरक्षित आश्रय दिएको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ । यद्यपि वरिष्ठ प्रहरी स्रोतले भनेको छ, ‘प्रारम्भिक प्रमाणले पाकिस्तानस्थित तालिबानको घरेलु शाखाको संलग्नता देखाउँछ ।’ शाखाको अफगान तालिबानसँग घनिष्ठ सम्बन्ध रहेको विश्लेषकहरूले बताएका छन् ।
तहिरक–ए–तालिबान पाकिस्तान (टीटीपी) को नामले चिनिने समूहले गत मंगलबार सार्वजनिक रूपमा पछिल्लो हमलामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ ।
बेइजिङले आफ्नो ‘बेल्ट एन्ड रोड’ पहलअन्तर्गत अर्बौं डलर लगानीको रक्षा गर्न उत्सुक इस्लामावादको कूटनीतिक गतिविधिलाई बम विस्फोटले संकटमा पारेको छ ।
प्रधानमन्त्री शहबाज शरिफले हिजो दासु निर्माण स्थलमा चिनियाँ कामदारहरूसँग भेट गर्दै पाकिस्तानले उनीहरूको सुरक्षाको प्रत्याभूति दिनका लागि ‘कुनै कसर नछाड्ने’ बताए । ‘हामीले सर्वोत्तम सम्भावित सुरक्षा उपायहरू नबनाएसम्म म आराम गर्दिनँ,’ उनले कामदारहरूसँग भने, ‘हाम्रा बलिया हातहरूले दोषीहरूलाई चाँडै पक्रने छन् भन्ने म तपाईंहरूलाई आश्वासन दिन सक्छु ।’