काठमाडौं । जनता समाजवादी दलका प्रमुख सचेतक प्रदीप यादवले कर्मचारी व्यवस्था तथा नियमन गर्ने सङ्घीय निजामती सेवा ऐन ल्याउँदा गम्भीर ढंगले सोचविचार गर्नुपर्ने बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद यादवले विधेयकमा निजामती कर्मचारीलाई श्रेणीबाट तहगत प्रणालीमा लाने, आवास सुविधा दिने, सरकारी सुविधा दिने, विशेष आर्थिक सुविधा दिने, स्वास्थ्य सुविधा दिने, स्वास्थ्य बिमा सम्बन्धी सुविधा दिने धेरै सुविधा दिने प्रावधान भएको बताए ।
उनले कर्मचारीले सेवाको भावले काम गर्नुपर्ने र देश विकास गर्ने हो भने २४ सै घण्टा कर्मचारीले डिउटी गर्नुपर्नेमा जोड दिए । उनले नेपाल पुलिसले २४ सै घण्टा ड्युटी गर्ने भन्दै निजामती कर्मचारीले त्यसो गर्न सक्दैन भन्दै प्रश्न गरे । उनले सङ्घीय निजामती सेवा सम्बन्धी ऐन बनाउँदा निजामती कर्मचारीले २४ सैं घण्टा डिउटी गर्ने प्रावधान राख्नुपर्नेमा जोड दिए ।
उनले कर्मचारीलाई बिदा दिने व्यवस्थामाथि कटाक्ष गर्दै भने– ‘कुनै प्रदेशले कसरी बिदा दिन्छ, त्यसको ठेगान नै छैन । कुनै प्रदेशले ७ दिन बिदा दिन्छ, मैले सुन्दै छु, एउटा प्रदेशले ल्याइरहेको छ, ७ दिन हनिमुन बिदा । अब यो देश विकास हुन्छ ? हनिमुन बिदा दिने हो ? कुनै कर्मचारीलाई अध्ययनका लागि ३ वर्ष बिदा रे । भर्खर अधिकृत भएर आएको छ मास्टर्स गर्न ३ वर्ष बिदा लिएर गायब भयो अब उसको ठाउँमा कसले काम गर्ने ? यसरी देश विकास हुन्छ ?’
यस्तो मोडलमा जाँदा देश विकास हुन नसक्ने उनले बताए ।