काठमाडौं । भारतको गुजरातलाई ८ रनले हराउँदै नेपाल ‘एसएमएस फ्रेन्डसिप कप’को फाइनलमा प्रवेश गरेको छ ।
त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार ४ खेलमा जीत निकाल्दै १ खेल अगावै फाइनलमा स्थान बनाएको हो ।
गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा आज बुधबार भएको लिगको चौथो खेलमा गुजरातले टस जितेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १८१ रन बनायो ।
१८२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७३ रन मात्र बनाउन सक्यो ।
पहिला ब्याटिङ गर्ने क्रममा नेपालको सुरुआत उत्कृष्ट रह्यो । दुवै ओनपरले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गरे । पहिलो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमायो । उनले २ छक्का र ९ चौकाको सहयोगमा ६७ रन बनाए ।
अर्का ओपनर मोहम्मद आशिफ शेखले ८५ रनको योगदान दिए । उनले ५१ बल खेल्ने क्रममा ५ छक्का र १० चौका प्रहार गरे । अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन् ।
कप्तान रोहितकुमार पौडेलले ३, सन्दीप जोराले २, कुशल मल्लले १, गुलशन झाले ४, विवेक यादवले ७ तथा प्रतीस जिसीले अविजित ४ रन बनाए ।
बलिङतर्फ गुजरातका लागि जयमित पटेलले ३ तथा आर्या देसाइ र ध्रुशान्त सोनीले २/२ विकेट लिए ।
गुजरातका लागि १७३ रन बनाउने क्रममा उमङ्ग तन्डेलले ४७ रनको योगदान दिए । हर्ष देसाइले अविजित २९ रन बनाए । अभिषेक देसाइले २० तथा स्मित पटेलले १९ रन बनाए ।
बलिङतर्फ नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले २/२ तथा विवेक यादवले १ विकेट लिए । नेपालले अर्को खेल शुक्रबार बरोडासँग खेल्नेछ ।