काठमाडौं । प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले नेपाली खानालाई अन्तर्राष्ट्रिय रूपमा ‘ब्राण्डिङ’ गर्नुपर्ने बताएकी छन् ।
रेस्टुरेन्ट तथा बार एशोसियशन नेपाल (रेवान) को ३४औं वार्षिक साधारणसभा तथा ११औं महाधिवेशनको उद्घाटन सत्रमा उनले नेपाली खानामा विविधता रहेकाले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न छुट्टै ‘ब्राण्डिङ’ गर्नुपर्ने बताइन् ।
‘नेपाली खानालाई विश्वमाझ पस्कन रेवानको महत्त्वपूर्ण भूमिका रहेको छ, रेवानले यस्ता कुरामा ध्यान दिनुपर्छ,’ उनले भनिन् । अन्तर्राष्ट्रिय पर्यटनमा नेपाली जनशक्तिको उच्च माग रहेकाले रेस्टुरेन्ट एण्ड बारले दक्ष जनशक्ति उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्ने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि रेवानले खेलेको भूमिका सह्राहनीय रहेको बताए । ‘अनुगमन गर्ने धेरै चिज छन् तर बजारमा आएर व्यवसायीलाई तर्साउने काम नगर्नुस्, पहिले सुन्ने अनि थुन्ने प्रवृत्तिको विकास गरौं,’ उनले भने ।
सरकारले निजी क्षेत्रलाइ हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले पछिल्लो समय नेपाली रेस्टुरेन्टमा गएर खाने संस्कृतिको विकास हुँदै गएको बताए । ‘पाहुनालाई स्वच्छ र सफा खाना खुवाउनुपर्छ,’ उनले भने, ‘नेपाली खानालाई विश्वमाझ चिनाउन रेवानको भूमिका महत्त्वपूर्ण छ ।’
रेवानका वरिष्ठ उपाध्यक्ष संघर्ष विष्टले रेवानले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि काठमाडौं, पोखरा, सौराह, बन्दीपुर लगायतका पर्यटकीय क्षेत्रमा सडक महोत्सव आयोजना गरिरहेको बताए ।
कोरोना महामारीबाट मारमा परेको अर्थतन्त्रलाई सडक महोत्सवले सहयोग पुग्ने उनको भनाइ थियो । उनले भ्याटलाई १३ प्रतिशतबाट घटाएर एकल अंकमा झार्नुपर्ने र सबै व्यवसायीलाई भ्याटको दायरमा ल्याउनुपर्ने उल्लेख गरे । विष्टले रेस्टुरेन्ट व्यवसायलाई उद्योगको मान्यता दिन आग्रह गरेका छन् ।