इलाम । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ ।
इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन् ।
उनले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताइन् । उनले भनिन्, ‘कूल २५ लाख लागत रहेको उद्योगलाई नगरपालिकाले तीन लाख २० हजार अनुदान दिएको छ । दश लाख ऋण लिएका छौँ । बाँकी सबै संस्थाको लगानी हो ।’
नगरप्रमुख केदार थापाले बुधबार उद्योगको उद्घाटन गरेका थिए । महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख थापाले उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने र यहाँको आवश्यकता यही उत्पादनले धान्ने विश्वास व्यक्त गरे ।
उक्त उद्योगले हाल ‘ब्रान्डिङ, प्याकेजिङ, लेवलिङ’को काम गरिरहेको संस्थाकी अध्यक्ष बबिता लिङदमले जानकारी दिइन् । उद्योगमा बजारको अवस्था हेरेर उत्पादनका सबै काम गरिने उनको भनाइ छ ।
उनका अनुसार उद्योगमा अहिले दुई जना महिला कार्यरत छन् । उद्घाटन कार्यक्रममा उपप्रमुख विष्णु दाहाल, वडाध्यक्षहरु नुतनदेव दुलाल, नरेश श्रेष्ठ, गायत्रीराम बस्नेत, पत्रकार महासङ्घका अध्यक्ष विप्लव भट्टराई, औषधि व्यवसायी सङ्घका अध्यक्ष वासु घिमिरे, महिला सशक्तीकरणकी अध्यक्ष ज्योतिमाला प्रधानको उपस्थिति थियो ।