काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज शुक्रबार बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ ।
जीतका लागि बरोडाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ५ ओभरमा अलआउट हुँदै ११९ रनमा समेटियो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए । उनले ४३ बल खेल्ने क्रममा ४ छक्का र ३ चौका प्रहार गरे । साथै विवेक यादवले १७, कुशल भुर्तेलले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । कुशल मल्लले ३, दीपेन्द्र सिंह ऐरी र आकाश जिसीले समान २/२ रन बनाए भने अनिल साह र गुलशन झाले समान १/१ रन बनाए ।
बरोडाको जितमा ध्रुव पटेलले ४ विकेट लिए भने लक्षित टोक्सियाले ३ र जय आभालेले २ विकेट लिए । हेमन्त पुण्डेले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेटका क्षतिमा १५६ रन बनाएको थियो । उसका लागि शाश्वत रावतले ३१ रनको योगदान दिए भने ध्रुव पटेलले २९ रन बनाए । साथै अमित पासीले २६, मोहित मोङ्गियाले २० र अभिमन्यु सिंह राजपुतले ११ रन बनाए ।
नेपालका लागि करन केसी र गुलशन झाले २/२ विकेट लिए भने आकाश चन्द, प्रतीश जिसी, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
जारी प्रतियोगितामा नेपाल र गुजरात यसअघि फाइनलमा पुगिसकेका छन् । नेपाले गुजरातसँग भएका दुवै खेल र बरोडासँग भएको १ खेलमा विजयी हुँदै फाइनलमा पुगेको थियो ।