रुकुम । रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार ९२४ अस्थायी आवास निर्माण भएको छ ।
३२ हजार ९९६ लाभग्राही कायम भएकोमा ३ हजार २३० अस्थायी आवास निर्माणको चरणमा छन् ।
भूकम्प गएको ५ महिना बितिसक्दा पनि सबै लाभग्राहीले अझै अस्थायी आवास निर्माण गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन कोषमा ८२ करोड ४९ लाख रकम पठाइएको भए पनि सबै रकम खर्च हुनसकेको छैन ।
चौरजहारी नगरपालिकामा १५ करोड ६९ लाख ७५ हजार, आठविसकोट नगरपालिकामा २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा ४ करोड १५ लाख, सानीभेरी गाउँपालिकामा १४ करोड ९६ लाख २५ हजार, त्रिवेणी गाउँपालिकामा ११ करोड ८१ लाख २५ हजार र बाँफिकोट गाउँपालिकामा ६ करोड ६० लाख २५ हजार रकम लाभग्राहीको खातामा निकासा भएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिए ।
चौरजहारी नगरपालिकामा ६ हजार २८९, आठविसकोट नगरपालिकामा ९ हजार ३१३, मुसीकोट नगरपालिकामा १ हजार ३९३, सानीभेरी गाउँपालिकामा ६ हजार २५१, त्रिवेणी गाउँपालिकामा ४ हजार ६९२ र बाँफिकोट गाउँपालिकामा २ हजार ९८३ अस्थायी आवास निर्माण भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार चौरजहारी नगरपालिकामा ६ हजार २७९ लाभग्राही कायम भएका छन् ।
आठविसकोट नगरपालिकामा ९ हजार ७३२, मुसीकोट नगरपालिका १ हजार ६६०, सानीभेरी गाउँपालिकामा ५ हजार ९८५, त्रिवेणी गाउँपालिकामा ४ हजार ७२५ र बाँफिकोट गाउँपालिकामा २ हजार ६४१ लाभग्राहीको खातामा रकम निकासा भएको छ ।
जिल्ला विपद् व्यवस्थापन कोषमा ४० करोड रकम आएको छ । पहिलो किस्ता पाएका र अस्थायी आवास निर्माण गरिसकेकाहरूको अनुगमन, पहिलो किस्ता पाउँदा गरिएको सम्झौता लगायतका आधारमा स्थानीय तहबाट माग भइआएकोमा दोस्रो किस्ताको रकम पनि वितरण हुने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।