कास्की । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा पोखराको फेवाताल किनारमा आयोजना हुने १९औं संस्करणको फेवा नव वर्ष महोत्सवमा नेपाली रैथाने खाना समेत समावेश गरिने भएको छ ।
फेवा नव वर्ष महोत्सव चैत २९ देखि आगामी वैशाख १ गतेसम्म लेकसाइडको ड्यामसाइडबाट हल्लन चोकसम्म हुँदैछ ।
होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एशोसिएशन अफ नेपालको सहकार्यमा पोखरा–६ गौरीघाटस्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखरा नेपालका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार महोत्सवमा गण्डकी प्रदेशमा रहेका विभिन्न रैथाने खानालाई समावेश गरिएको छ ।
महोत्सवबाट स्थानीय खानाको अन्तर्राष्ट्रिय बजारीकरणमा समेत सहयोग पुग्ने महासचिव ढकालले बताए । फेवा नववर्ष महोत्सव ड्यामसाइड चोकबाट खहरेचोकसम्मको साढे ३ किलोमिटर क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित सञ्चालन हुँदैछ ।
महोत्सवको आन्तरिक तथा बाह्य गरी ३ लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवअन्तर्गत लेकसाइडका सबै चौतारामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा होटल संघ पोखरा मातहतका होटलको प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
महोत्सवका मुख्य आकर्षणमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यंग्य प्रहसन र पर्यटक दौड प्रतियोगिता लगायत रहेका छन् ।
कोभिड–१९ पछि पूर्ववत अवस्थामा सञ्चालन हुन नसकेर थला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन महोत्सव सफल हुने विश्वास लिइएको छ । होटल संघ पोखराले २ दशकअघिदेखि नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएको छ ।
कोरोना महामारीका कारण २ वर्ष सञ्चालन नभएको महोत्सव त्यसपछि भने निरन्तर सञ्चालन हुँदैआएको छ ।