काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।
घरेलु मैदानमा हैदरावादले चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । जारी सिजनमा चेन्नईको यो लगातार दोस्रो हार हो भने हैदरावादको दोस्रो जीत हो ।
चेन्नईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो भने जवाफमा हैदरावादले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भएको छ ।
हैदरावादका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । हैदरवादविरुद्ध कप्तान ऋतुराज गायकवाड र रचिन रविन्द्रको ओपनिङ जोडीले खासै राम्रो प्रदर्शन गर्न सकेन ।
यी २ खेलाडीले २५ रनको साझेदारी गरेका थिए । रविन्द्र ९ बलमा १२ रन बनाएर पहिलो विकेटको रूपमा आउट भए ।
तर चेन्नईका विस्फोटक अलराउन्डर शिवम दुबेले टोलीमा पुनरागमन गरे पनि ४५ रनको स्कोरमा कमिन्सले उनलाई आउट गरे । दुबेका साथै अजिंक्या रहाणेले पनि ३५ रन बनाएका थिए ।
रविन्द्र जडेजाले ३१ रन बनाउँदा डेरियल मिचेलले १३ रन बनाए । महेन्द्रसिंह धोनी १ रनमा नटआउट रहे । हैदरवादका लागि प्याट कमिन्स, टी नटराजन, भुवनेश्वर कुमार, सहवाज अहमतद र जयदेव उनादकटले समान १–१ विकेट लिएका थिए ।
जवाफी पारीका लागि घरेलु मैदानमा चेन्नाइविरुद्ध युवा खेलाडी अभिषेक शर्मा र ट्राभिस हेडले उत्कृष्ट सुरुआत गराए । १२ बलमा ३७ रनको आक्रामक पारि खेलेका अभिषेक शर्मा टीमको स्कोर ४६ रन हुँदा आउट भए । उनले ३ छक्का र ४ चौका प्रहार गरे । त्यसपछि ट्राभिस हेड र एडेन मार्करम मिलेर पारी अगाडि बढाएका थिए । हेड २४ बलमा ३१ रनको पारी खेलेर आउट भएका थिए ।
ओपनरद्वय अभिषेक र हेडको विकेट गुमेपछि हैदरावादका एडेन मार्करामले जीतको जिम्मेवारी सम्हाले । उनले ३६ बलमा ५० रनको उत्कृष्ट पारि खेलेका थिए ।
सहवाज अहमदले १८ रन बनाउँदा हेनरिक क्लासेन १० तथा नितिश कुमार रेड्डीले १४ रनको नटआउट पारी खेल्दै हैदरावादालाई सहज जीत दिलाए ।
चेन्नईका मोइन अलीले २ विकेट लिँदा दीपक चहार र महेश तिक्क्षणाले समान १–१ विकेट लिए । जीतपछि हैदरावादले ४ खेलबाट ४ अंक बनाएको छ । चेन्नईको पनि ४ खेलबाट ४ अंक नै रहेको छ ।
चेन्नई तालिकाको तेस्रो तथा हैदरावाद पाँचौं स्थानमा छ । जारी आईपीएलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स शतप्रतिशत जीतका साथ ६ अंक बनाउँदै शीर्ष २ स्थानमा रहेका छन् ।