काठमाडौं । प्रहरी वरिष्ठ नायब निरीक्षक एवं उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ ।
मुक्तिनाथ दर्शन साहित्य समाजले आज शनिबार आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो ।
कृतिको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, नेपाल सरकारका पूर्व सचिव एवं समालोचक गोपीनाथ मैनाली लगायतले विमोचन गरे ।
कार्यक्रममा एआईजी राईले समाज रूपान्तरणमा नागरिक र प्रहरीबीचको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले प्रहरीको व्यस्त सेवामा रहेर पनि आफ्नो साहित्यिक अभियानलाई अगाडि बढाएको भन्दै लेखकप्रति शुभकामना दिए ।
सामाजिक कामसँगै साहित्य कृति प्रकाशन गर्नु सराहनीय कार्य भएको उनको भनाइ थियो । उनले प्रतिभावान कर्मचारीलाई अगाडि बढाउन नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गरे । एआईजी राईले नेपाल प्रहरीले आफ्नो पत्रिकामार्फत साहित्यिक कृतिलाई अगाडि बढाउँदै लगेको स्पष्ट पारे ।
मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. लुइँटेलले उपन्यास सानो भए पनि उपन्यासभित्र धेरै विषयवस्तु भएको बताए । ‘युगीन विकृति, विसंगतिको यथार्थ चित्रण गरेको उपन्यास सामाजिक उपन्यास हो,’ उनले भने ।
सरल भाषाशैलीमा लेखिएको कृति पछिल्लो समयको उत्कृष्ट कृति भएको उनको भनाइ छ ।
नेपाल सरकारका पूर्व सचिव एवं वरिष्ठ समालोचक मैनालीले उपन्यासले नेपाली जीवनशैली, ग्रामीण परिवेशलाई उजागर गरेको बताए । उनले उपन्यासभित्र भाषाशैली केही नमिले पनि कृति पठनीय रहेको उल्लेख गरे ।
समालोचक मैनालीले उपन्यासलाई चलचित्र बनाउन सकिने बताए ।
वरिष्ठ समालोचक एवं लघु कथाकार युवराज मैनालीले ‘दृष्टिपथ’ सामाजिक रूपान्तरणका लागि लेखिएको उपन्यास भएको बताए । उनले लेखकमा साहित्यप्रति अथाह भविष्य रहेको उल्लेख गरे ।