काठमाडौं । इरानको प्रहरीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यमा आक्रमण गर्ने योजना बनाएका इस्लामिक स्टेट (आईएस) समूहका ३ संदिग्ध सदस्यलाई पक्राउ गरेको सरकारी मिडियाले शनिबार बताएको छ ।
आधिकारिक आईआरएनए समाचार एजेन्सीका अनुसार उत्तरपश्चिमी प्रान्त अल्बोरेजको कारज शहरमा पक्राउ परेकाहरूमा मोहम्मद जकर पनि रहेका छन् ।
उनको पहिचान आईएस समूहको वरिष्ठ सदस्यका रूपमा गरिएको थियो ।
‘रमजान समारोहको अन्त्यमा आत्मघाती आक्रमण गर्ने योजना बनाइरहेका इस्लामिक स्टेट समूहका ३ सदस्यलाई अल्बोरेज प्रान्तको प्रहरीले पक्राउ गरेको छ,’ आईआरएनएले भनेको छ । पक्राउ कहिले गरिएको र पक्राउ पर्नेमा विदेशी नागरिक थिए वा थिएनन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन ।
आईआरएनएले विस्तृत विवरण नखुलाई अन्य ८ ‘सहयोगी’लाई पक्राउ गरिएको पनि जानकारी दिएको छ । स्थानीय सञ्चारमाध्यमहरूले मंगलबार पवित्र शहर कोममा २ कथित आईएस सदस्य पक्राउ परेको बताएका छन् ।
आईएसले जनवरीमा ९० भन्दा धेरै व्यक्तिको ज्यान जाने गरी दक्षिणी इरानी शहर करमानमा भएको दोहोरो बम विस्फोटको जिम्मेवारी लिएको थियो । आक्रमण इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका शीर्ष रिभोल्युसनरी गार्ड्सका जनरल कासिम सुलेमानीको मृत्युको वार्षिकोत्सवमा आयोजित समारोहमा भएको थियो ।
इरानले वर्षौंदेखि जिहादी र अन्य आतंकवादी समूहहरूसँग लड्दै आएको छ । आईआरएनएले शनिबार पाकिस्तानसँगको सीमा नजिक जिहादीहरूले गरेको हालैको आक्रमणमा मारिएका ‘शहीद’हरूको संख्या बढेर १६ पुगेको बताएको छ । मारिनेमा सबै सुरक्षा बलका सदस्य रहेका छन् ।
यसअघि सरकारी मिडियाले झडपमा १० सुरक्षाकर्मी र जैश अल–अदल जिहादी समूहका १८ सदस्य मारिएको बताएको थियो । सुन्नी मुस्लिम विद्रोही समूह जैश अल–अदलको स्थापना सन् २०१२ मा भएको थियो । उक्त समूहलाई इरान र अमेरिका दुवैले आतंकवादी संगठनका रूपमा सूचीकृत गरेका छन् ।