काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न १० औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् ।
राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो ।पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्तावेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको छ ।
देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, विविधताबीचको एकता, सामाजिक सांस्कृतिक पक्ष पनि दस्तावेजमा समेटिएको छ । पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तयार गर्नुभएको समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेजमा वैज्ञानिक समाजवादको अवधारणा, समाजवादको स्वरुप, आर्थिक रुपान्तरणलगायत विषय समावेश गरिएको छ ।
उपाध्यक्ष बेदुराम भुसालले लेख्नुभएको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ । सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदन गराउने व्यवस्था गरिएको छ ।
महासचिव घनश्याम भुसालले तयार पार्नुभएको साङ्गठनिक दस्तावेजमा पार्टीको सङ्गठन निर्माणमा देशभरका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको सदस्यतालाई व्यवस्थित गर्दै फैलनुपर्ने जनाइएको छ ।
आगामी जेठ ३ देखि ७ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुँदैछ । पार्टी अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटीले आवश्यक तयारी गरिरहेको छ ।