रसुवा । नेपाल-चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गराउन व्यवसायीले आग्रह गरेका छन् ।
व्यवसायी आफैं केरुङ जान नपाउँदा सवारी साधन मात्र पठाउनुपर्ने बाध्यता रहेकाले रसुवागढीबाट केरुङ जाने परिचयपत्र सहजरूपले उपलब्ध गराउन उनीहरूले आग्रह गरेका हुन् ।
टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीका लागि चर्काे ज्याला तिर्न बाध्य भएको भन्दै केरुङ जान पाउने सीमापास सहजरूपले उपलब्ध हुनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् ।
अध्यागमन विभागले तय गरेको चीन प्रवेशसम्बन्धी कार्यविधि, २०७६ बमोजिम रसुवागढी नाकाबाट चालक, कामदार एवं व्यापारीलाई प्रवेश अनुमति प्रदान गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल ट्रक कन्टेनर प्रालिले संयुक्त रूपमा माग गरेका हुन् ।
अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले यस सम्बन्धी कार्यविधि बनाइ नियमानुसार रसुवागढी नाकाको समस्या छिट्टै समाधान गरिने बताए ।
कोरोना सङ्क्रमणपश्चात् २०७९ साल चैत १८ गतेदेखि पुनः नाका सञ्चालन भएको थियो ।
अनावश्यक टीकाटिप्पणी हटाइ रसुवागढी नाकालाई व्यवस्थित तथा मर्यादित बनाएर रसुवाको छवि उच्च पार्न गोसाइंकुण्ड गाउँपालिकाले स्थानीय व्यापारीसँग सुझाव संकलन गरिसकेको छ ।
केरुङतर्फ आयातनिर्यात हुने सामानको ढुवानीमा छ सय सवारी चालक र छ सय सहचालक कार्यरत रहेको ट्रक कन्टेनर व्यवसायी प्रालिले जनाएको छ ।
सीमा क्षेत्रमा अनेक प्रकारका समस्या आउने भएकाले समाधानका लागि दुई देशका सीमा सुरक्षा अधिकारीसमक्ष अनुरोध गरिएको छ ।