मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरूले बताएका छन् ।
स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौं स्वास्थ्य बीमा वार्षिकोत्सवको उपलक्ष्यमा आज आईतबार आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले स्वास्थ्य सेवा संस्थाले सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने तथा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण गरी सेवाको दुरुपयोग गर्न नहुने धारणा राखे ।
उनीहरूले राज्यले धेरै ठूलो अपेक्षा राखी सुरु गरेको कार्यक्रमलाई हामी सबैले सफल गरी संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा डा. शंकरप्रसाद अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमले न्यूनतम रकममा अधिकतम स्वास्थ्य उपचार सेवा प्राप्त हुने भएकाले सम्पूर्ण नागरिकले बीमा गर्न आग्रह गरे ।
बोर्डका प्रदेश संयोजक अर्जुन पण्डितले बोर्डले मुलुकभर गत वर्ष १६ अर्ब र चालू वर्षको ८ महिनाको अवधिमा ४ पटक गरी ८ अर्ब सेवा प्रदायक स्वास्थ्य सेवा संस्थालाई भुक्तानी गरेको जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने विभिन्न स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।
सोही अवसरमा विराटनगर–३ का उत्कृष्ट बीमा दर्ता सहयोगी विमला खनाललाई सम्मान गरिएको थियो । प्रदेशमा कूल बीमित परिवार संख्या ४ लाख ४४ हजार ९११, कूल बीमित जनसंख्या २३ लाख ९ हजार ८५५ जना (४७ प्रतिशत), सेवा लिनेको बीमितको संख्या ११ लाख ३ हजार ४३४ जना (४८ प्रतिशत) र नवीकरण गर्ने बीमितको संख्या ७७ दशमलव २९ प्रतिशत रहेको बोर्डद्वारा उपलब्ध तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रदेश बोर्डअन्तर्गत सरकारी ८०, सामुदायिक ४ र निजी २२ गरी १०६ सेवा प्रदायक स्वास्थ्य संस्था आबद्ध छन् । हालसम्म नेपालमा ७७ लाख ४१ हजार ४५३ जना (२२ दशमलव ५४ प्रतिशत) नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन् । बोर्डले लक्षित वर्गबाहेक स्वास्थ्य बीमा सेवाको दुरुपयोग रोक्नका लागि सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा जम्मा रकमको १० प्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।