म्याग्दी । जिल्लाका पशुगोठ लेकमा सार्न थालिएको छ ।
गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउँदै गोठाला बेंसीबाट लेकतर्फ लागेका हुन् । चिसोमा न्यानोका लागि बेंसी झारिएका भेडाबाख्रा, गाईभैंसी, घोडा र चौरी गाईका घुम्ती गोठहरू लेकमा सार्न थालिएको छ ।
रघुगंगा गाउँपालिका–८ का भेडापालक कृषक पदम छन्त्यालले पात्लेखर्क, सानो धुरी, ठूलो धुरी, रिहगाड हँुदै असारको पहिलो हप्ता रिरुको बुकी पुग्ने गोठ भदौ महिनासम्म त्यहाँ रहने बताए ।
‘उभौली लागेपछि गोठ लेकतर्फ लैजान थालेका छौं । पालुवा पलाउँदै गरेको पोषिलो घाँस खुवाउन २/३ दिनका ठाउँ फेर्दै गोठ सार्दैसार्दै ४ हजार ८०० मिटर उचाइको रिरुको बुकीमा पुग्छौं,’ उनले भने, ‘गोठालालाई चाहिने खाद्यान्न, लत्ताकपडा र भेडालाई नुनसँगै बोकेर हिँडेका छौं ।’
४० वर्षीय छन्त्यालले वैदेशिक रोजगारको विकल्पमा बाबुबाजेले गर्दै आएको भेडापालनलाई निरन्तरता दिएका छन् । उनले झण्डै ४०० भेडा पालेका छन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । असार, साउन र भदौमा बुकीमा चराएपछि असोजमा गोठ दशैंको असपासका गाउँबस्ती नजिकै ल्याउने चलन छ । हिउँदमा बेंसीका फाँटमा ल्याइने गोठ बर्खामा हिमालको फेदीका बुकीमा पुग्ने गर्दछन् ।
गाईभैंसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर गोठाला लेकतर्फ लागेका छन् । करीब ३/४ महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धवलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गंगबहादुर पहरे पुनले बताए । वस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । लेकका बुकीका चरन क्षेत्रलाई गाउँअनुसार विभाजन गरिएको छ । पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईवस्तु लिएर १ जना गोठ जाने गरेका छन् ।
म्याग्दीमा करीब २०० घुम्ती गोठ रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र केन्द्रका प्राविधिक गणेश रिजालले बताए । घुम्ती गोठका लागि केन्द्रले सहयोग गर्दैआएको उनले बताए ।