धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
संघीय खानेपानी तथा ढल निकासी विभागद्वारा आज सोमबार धनुषाको लालगढमा आयोजित मधेश प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी वितरण सम्बन्धी परामर्श गोष्ठीमा उनले मधेशको दक्षिणी भूभागमा केही वर्ष यता पानीको सतह घटेपछि सुक्खा याममा खानेपानीको हाहाकार हुँदै आएको जनाउँदै दुवैखाले योजनालाई अगाडि बढाउन संघीय सरकारलाई आग्रह पनि गरे ।
संघीय सरकारले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरी मधेशका ६ जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकामा धन्यवाद दिँदै मुख्यमन्त्री यादवले भने, ‘योजना सराहनीय छ, मधेश सरकार हातेमालो गर्न प्रतिबद्ध छ, यो योजना पूरा हुन धेरै समय लाग्छ, तसर्थ तत्कालीन योजना अघि बढाउन आवश्यक छ, हामीलाई सहयोग गर्नुस्, मधेशका चापाकल अहिले नै सुक्न थालेका छन्, तत्कालीन योजनाका लागि संघ सरकारलाई आग्रह गर्दछु ।’
संघीय खानेपानीमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभाको महिला, बालविकास तथा सामाजिक समितिका सभापति किरण साह, पूर्व खानेपानीमन्त्री महेन्द्र राय यादव, मधेश सरकारका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री सिंघासन साह कलवार लगायतका वक्ताले मधेशमा खानेपानी आपूर्तिको अवस्था र आगामी रणनीतिबारे आ–आफ्नो धारणा राखेका थिए ।
खानेपानी तथा ढल निकास विभागका निर्देशक कमलराज श्रेष्ठले थोक खानेपानी आपूर्ति प्रणाली सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही भागलाई प्रशोधन गरेर मधेश प्रदेशको धनुषादेखि पर्सासम्म खानेपानी सप्लाइ गरी दीर्घकालीन समाधान गर्न सकिने बताए ।
परियोजनाका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४८८ लागत अनुमान गरिएको छ ।