काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा सांसदले देशभर पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद विश्वप्रकाश शर्माले लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल पाँचवटा काम गर्न सरकारलाई सुझाव दिए ।
पशु स्वास्थ्य आपत्काल महसुस गरेर सम्बन्धित सबै निकायलाई यसको नियन्त्रणमा लाग्न निर्देशन दिन, रोग नियन्त्रणका लागि आवश्यक बजेट अविलम्ब प्रबन्ध गर्न, पर्याप्त खोप आयात गर्न, गाउँ-गाउँमा पशु चिकित्सक परिचालन गर्न र यो रोगबाट पशु चौपाया गुमाएका किसानका लागि राहतको कार्यक्रम ल्याउन उनले सुझाव दिए ।
त्यस्तै, संसद्को अवरोधका कारण मीटरब्याज पीडितलाई न्याय दिन ल्याइएको विधेयक पारित नसकेकाले यसलाई ढिलो नगरिकन संसदमा ल्याउन पनि उनले सरकारसँग माग गरे ।
सांसद श्यामकुमार घिमिरेले लम्पी स्किन रोक नियन्त्रणका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने बताए ।
त्यस्तै, सरकारले अवलम्बन गरेको तीन खम्बे अर्थनीतिमा अहिले सहकारी क्षेत्र तहसनहस भएको र यसले मुलुकको समग्र अर्थतन्त्रमै गम्भीर समस्या देखिनसक्ने बताए ।
अर्की सांसद सुमना श्रेष्ठले सरकारले पशु चिकित्सकको दरबन्दी काटेको उल्लेख गर्दै रोग लागेपछि उपचारमा लाग्नुभन्दा रोग लाग्नै नदिन सरकार जिम्मेवार हुनुपर्ने बताइन् ।
त्यस्तै, अधिकांश विश्वविद्यालयमा उपकुलपति नरहेको र विश्वविद्यालयले उपलब्ध गराउने समकक्षताको प्रमाणपत्र लिन समस्या रहेकाले यस्तो समस्या समाधानका लागि पहल गर्न सरकारसँग माग गरिन् ।
त्यस्तै, लम्पी स्किन रोगबाट पशु चौपाया गुमाएका किसानका लागि २४ घण्टाभित्र राहतका कार्यक्रम घोषणा गर्न डा. सुनिलकुमार शर्माले संसदमा माग गरे ।
सांसद शिशिर खनालले पछिल्लो ११ महिनामा दुई हजार दुई सयभन्दा नागरिकको सडक दुर्घटनाका कारण ज्यान गुमाएको र गत चैतयता मात्र चारवटा हवाई दुर्घटना भएको उल्लेख गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि माग गरे ।
त्यस्तै, हवाई क्षेत्रको नियामक र सञ्चालक फरक–फरक हुने गरी कानुनी व्यवस्था गरिनुपर्ने पनि उनको भनाइ छ ।
सांसद शेरबहादुर कुँवरले बाढी र पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि र जोखिमयुक्त बस्ती व्यवस्थापनका लागि सरकारले गम्भीर भएर लाग्नुपर्ने बताए ।
अर्का सांसद सीताकुमारी रानाले मनसुनी वर्षाका कारण सिर्जीत बाढी पहिरोका कारण हुने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारीका काम गर्न र सम्भावित खाद्य संकट निवारणका लागि ध्यानाकर्षण गराइन् ।
सांसद शोभा ज्ञवालीले किसानले समयमा मल पाउन नसकेकोबारे संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद सराज अहमद फारुकीले पनि किसानले मल पाउन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।
त्यस्तै, तराई क्षेत्रमा नदी कटान र बाढी नियन्त्रणका लागि उनले माग गरिन् ।
उखु किसानले उखुको मूल्य नपाएको र सरकारले उपलब्ध गराउने अनुदान विषय सांसद सरिता भुसालले उठाइन् ।
सांसद सीता मिजारले जातीय छुवाछुत र अन्तरजातीय विवाहका कारण भोग्नुपर्ने समस्या अझै भोग्नुपरेको उल्लेख गर्नुहुँदै पीडकमाथि कारबाहीको माग गरिन् ।
सांसद सूर्यप्रसाद ढकालले जातीय छुवाछुत निवारणका लागि सरकारका काम पर्याप्त नरहेको विषय उठाए ।
बझाङको मष्टा गाउँपालिकामा बालिका सम्झना विकको बलत्कारपछि हत्या भएपछि उनको परिवारलाई सरकारले रु १० लाख राहत उपलब्ध गराउने भनेकोमा हालसम्म पनि पाउन नसकेको विषय सांसद हर्कमाया विश्वकर्माले उठाए ।
सांसद सूर्यबहादुर थापा क्षेत्रीले मदन भण्डारी राजमार्ग निर्माणको काम ढिलो गतिमा भइरहेको बताए ।
सांसद सोविता गौतमले आन्तरिक रोजगार बढाउने र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनुपर्ने विषय संसदमा राखिन् ।
त्यसैगरी, अर्का सांसद सञ्जयकुमार गौतमले २०७४ सालमा सरकारले जग्गाको कित्ताकाट रोक्ने निर्णय गरेको भए पनि त्यो नरोकिएको र अहिले फेरी खोल्ने निर्णय भएकोमा यो समय बीचमा जग्गाको कित्ताकाट गरेर ठूलो भ्रष्टाचार भएको हुनसक्ने बताए । कित्ताकाट रोकिएको समयमा भएको कित्ताकाटबारे छानबिन हुनुपर्ने उनको माग छ ।
सांसद हेमराज राईले भोजपुर जिल्लाका गाउँमा खानेपानीको अभावका कारण नागरिकले समस्या भोग्नुपरेको बताए ।