गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी वैशाख १ गते लेखनाथ हाफ म्याराथन हुने भएको छ ।
कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको म्याराथन आयोजना हुने आज मंगलबार तालचोकमा आयोजित पत्रकार सम्मेलनमा समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला/पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुनेछ ।
४ वटा विधामा गरेर करीब १ हजार धावक सहभागी हुने अनुमान गरिएको खड्काले बताए । प्रतियोगितामा हाफ म्यराथनको विजेताले ६० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । द्वितीय, तृतीय, सान्त्वना र पाँचौंले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
१० किलोमिटरको महिला/पुरुष राष्ट्रिय खुला दौडका विजेताले ३० हजार र उपविजेताले २० हजार पाउने छन् । तृतीय, सान्त्वना र पाँचौं हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँका साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने सचिव खड्काले जानकारी दिए ।
५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौंले २ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पाउने छन् । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार पाउने सदस्य सचिव खड्काले जानकारी दिए ।
दौड पूरा गर्ने सम्पूर्ण विधाका शीर्ष २० धावकलाई मेडल प्रदान गरिने समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेन्द्र जिसीले जानकारी दिए । दौडमा सहभागी हुन पोखरा महानगरपालिकाको शिक्षा महाशाखा वा आदर्श क्लब, भण्डारढिकको कार्यालय पुगी वा खेलकुद विकास समितिको फेसबुक पेजमार्फत गुगल फाराम भरेर चैत २९ गतेसम्म नाम दर्ता गर्न सकिने छ ।
भण्डारढिकबाट सुरू हुने हाफ म्याराथन उत्तरसिंह चोक, भूगोलपार्क, रामबजार, सितागुफाचोक, सातमुहाने बजार, राजाकोचौतारा, झउरीचोकबाट फर्केर सातमुहाने बजार, खुदी, नहरचोक, रामबजार, लेखनाथ उद्योग वाणिज्य संघको भवन हुँदै भण्डारढिक खेल मैदानमा आएर टुंगिनेछ ।