काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । आज भएको उपाध्यक्षको निर्वाचनमा घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मत मात्र पाइन् ।
पृष्ठभूमि
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेको जन्म साविकको ढिकुरा गाविस वडा नं.७ हालको भूमिका स्थान वडा नं. २ ढिकुरा अर्घाखाँचीमा आमा रूपकला घिमिरे र बुबा दिन प्रसाद घिमिरेको पहिलो सन्तानको रूपमा २०२९ साउन १२ गते भएको हो ।
२०४० सालमा अर्घाखाँचीबाट कपिलवस्तुको साबिकको कोपवा गाविसमा बसाइँ सराई गरेकी घिमिरेले आधारभूत अर्घाखाँची जिल्ला शारदा उच्च मावि र माविको अध्ययन बाँणगंगा मावि गजेहडा कपिलवस्तुबाट पुरा गरिन् ।
२०४९ सालमा साबिकको मोतीपुर वडा नं. ८ र हालको वाणगंगा नगरपालिकाको वडा नं ८ निवासी दुर्गाप्रसाद आचार्यसँग उनको प्रगतिशील विवाह भएको भयो । घिमिरेको परिवार हाल अस्थायी रूपमा काठमाडौँ महानगरपालिका वडा नं. ३२ संखमुलमा बस्दै आएको छ ।
यस्तै घिमिरेले २०४७ साल वैशाखमा अखिल नेपाल महिला संघ कोपवा गाउँ समिति सहसचिवबाट राजनैतिक र सांगठनिक यात्राको सुरुवात गरेकी हुन् । २०४८ मा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी सदस्य बनेकी घिमिरे २०४८ सालमा अनेमसघं कपिलवस्तु जिल्ला तदर्थ समितिमा सचिव बनिन् ।
२०४८ साल माघमा सम्पन्न अनेमसंघ कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनमा सचिवमा निर्वाचित हुँदै २०५१ सालसम्म कार्यरत रहेकी उनी २०५१ देखि २०५३ सम्म नेकपा (एमाले) मोतीपुर गाउँ समितिको सचिव बनिन् । २०४९ मा सम्पन्न पार्टीको पाँचौँ महाधिवेशनमा प्रतिनिधि बनेकी उनी २०४९ देखि २०५९ सम्म पार्टीको इलाका कमिटी सदस्य रहिन् ।
२०५४ सालमा पुनः अनेमसघं जिल्ला सचिव भई २०६२ सम्म जिम्मेवारी सम्हालेकी घिमिरे २०५९ सालमा नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य बनिन् । २०६९ देखि २०७९ सम्म अनेमसंघ केन्द्रीय कमिटी सदस्य, २०७१ मा नेकपा एमालेको नवौँ महाधिवेशनमा केन्द्रीय कमिटी उम्मेदवार भई झिनो मतले पराजित, पार्टी केन्द्रीय स्कुल विभागमा मनोनीत भइन् ।
नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका बिचमा पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी सदस्य, २०७८सालमा सम्पन्न पार्टीको १० औ महाधिवेशनमा केन्द्रीय कमिटीमा निर्वाचित भई हाल पोलिटब्युरो सदस्यको भूमिकामा छन् ।
२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बाणगंगा नगरपालिकाको प्रमुखमा उम्मेदवारी र झिनो मतान्तरले पराजित भएकी उनी २०७६ देखि हालसम्म लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित छन् ।