महोत्तरी । इस्लाम धर्मावलम्बी आज आफ्नो मुख्य चाड इद-उल-फित्र (इद)मनाउँदै छन् भने हिन्दुको वासन्ती नवरात्र जारी छ । यस अवसरमा दुवै सम्प्रदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।
नयाँ वर्षको प्रारम्भमा मनाइने ‘जुडशीतल’ पर्वका निम्ति सरसामानको जोहो गर्न हिन्दुहरू व्यस्त छन् । महोत्तरीसहित मधेसका मिथिला क्षेत्रमा छ्यासमिस बसोबास रहेका बस्तीमा हिन्दु/इस्लाम अनुयायी एकापसमा शुभकामना आदानप्रदानमा व्यस्त छन् ।
“इद मुवारक (शुभकामना) छ’, महोत्तरीको भङ्गाहा-४ रामनगरको मुसलमान टोल पुगेका हिन्दु युवक मुस्लिम समवयीलाई आलिङ्गन गर्दै शुभकामना व्यक्त गर्छन्”, यसैगरी मुस्लिम युवक आफ्ना हिन्दु साथीलाई नवरात्र, जुडशीतलको शुभकामना भन्दै सद्भाव व्यक्त गरेका छन् ।
जिल्ला सदरमुकाम जलेश्वरमा इस्लाम धर्मावलम्बीलाई शुभकामना दिन हिन्दूहरु घरघरैजसो पुग्दैछन् । ‘हामी मुस्लिम साथीलाई भेट्न उनीहरूको घरमा पुग्दैछौँ’, जलेश्वर–२ का ३० वर्षीय विनय विश्वकर्मा भन्छन्,’ यहाँ खुसीको वातावरण छ ।’
जलेश्वर सामाजिक र धार्मिक सद्भावका लागि उदाहरणीय भएको नगरप्रमुख सुरेश साह सोनार भन्छन् । ‘कुनै मुस्लिमलाई इदको शुभकामना दिन उनका आफन्तभन्दा पहिले हिन्दु पुग्छन्, त्यस्तै हिन्दूका पर्वमा शुभेच्छा प्रकट गर्न मुस्लिम पुग्ने गरेका छन्’, ‘आफ्नो माटोको सहिष्णुताबारे नगरप्रमुख साह भन्छन्’, यो मैथिल परम्परा र संस्कृतिको प्रभाव हो । जलेश्वरमा दसैँ महोत्सव र महाशिवरात्रिजस्ता पर्व र समारोहमा मुस्लिम युवा स्वयंसेवी हुने गरेका उनी बताउछन् ।
जिल्लाका उत्तर/दक्षिण तथा पूर्व/पश्चिम जता पुगे पनि हिन्दु र मुस्लिम युवा सराबरी आपसमा खुसी साटासाट गरिरहेका भेटिएका जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउछन् ।
‘चाडपर्वमा देखिने हिन्दु/मुस्लिमबीचको यो प्रेम र सद्भावले मलाई भावुक बनाउँछ’ उनी भन्छन्, “छुट्टाउनै सकिन्न, इदमा हिन्दु खुसी व्यक्त गरिरहेका हुन्छन्, दसैँ, छठ र फागुजमा मुस्लिम युवाले त्यसै गरेको देखिन्छ”, यो मिथिला संस्कृति मात्र नभएर बुद्ध दर्शनको समेत प्रभाव भएको उनको भनाइ छ ।
मैथिल हिन्दु, मुसलमान,बौद्ध र इसाई सबै धर्म परम्पराका छन् । यहाँको आपसी सद्भाव र धार्मिक सहिष्णुता चाहिँ वैदिक सनातन, इस्लामिक सुफी सन्त र बुद्ध दर्शन परम्पराको निरन्तरता भएको पाका मैथिल बताउँछन् ।
यो आपसी प्रेम, धार्मिक सद्भाव र सहिष्णुताले मैथिल हुनुको गर्वानुभूति भएको रामगोपालपुर-२ महनपुरका ६० वर्षीय इस्लाम धर्मावलम्बी महम्मद कादिर हुसैन बताउछन् ।