महेन्द्रनगर । थाइल्याण्डको फुकेटमा जारी अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आईडब्ल्यूएफ) विश्व कप भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।
प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धाका क्रममा कञ्चनपुरको महेन्द्रनगरका भण्डारीले प्लस् १०९ किलोग्राम तौल समूहमा स्नाचमा १३४, क्लिन एण्ड जर्कमा १७२ किलोग्राम र कूलतर्फ ३०६ किलोग्राम भार उचाल्दै आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेको थाइल्याण्डमा रहेका भारोत्तोलनका प्रशिक्षक जीवन गौतमले जानकारी दिए ।
यसअघि चीनमा सम्पन्न १९औं एसियाली खेलकुद प्रतियोगितामा भण्डारीले स्नाचमा १३३ किलो भार उचाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । यसअघि उज्वेकिस्तानमा भएको एसियाली च्याम्पियनसिप २०२४ मा भण्डारीले क्लिन एण्ड जर्कमा १७१ किलो भार उचालेका थिए । सोही प्रतियोगितामा उनले कूलतर्फ ३०३ किलो भार उचालेका थिए ।
यसअघि पनि क्लिन एण्ड जर्क र कूलतर्फ पनि भण्डारीकै नाममा राष्ट्रिय कीर्तिमान रहेको थियो । ती दुवैमा पनि भण्डारीले राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।
‘विक्रम संवत् २०३६ मा भारोत्तोलन संघ बनेयता भण्डारी ३०६ किलोग्राम भार उचाल्ने पहिलो खेलाडी बनेका छन्,’ प्रशिक्षक गौतमले भने, ‘भारोत्तोलन संघले ओलम्पिक खेल्न सक्ने सम्भावित खेलाडीको रुपमा भण्डारीलाई अघि बढाएको छ ।’
भारोत्तोलनमा वाइल्ड कार्ड पाएर ओलम्पिक खेल्न सक्ने सम्भावित खेलाडीको सूचीमा उनलाई राखेर नेपाल ओलम्पिक कमिटीले प्रशिक्षण तथा अन्य आवश्यक व्यवस्थान गरिरहेको प्रशिक्षक गौतमले जानकारी दिए ।
ओलम्पिक कमिटीले १ वर्षदेखि भण्डारीको प्रशिक्षकका रुपमा गौतमलाई खटाएको छ । महेन्द्रनगरबाट भारोत्तोलन खेल्न सुरुआत गरेका उनी हाल नेपाल पुलिस क्लबमा आवद्ध छन् । छोटो समयमा भण्डारी धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका छन् । सुदूरपश्चिमबाट कैलालीको धनगढीका भरत साउद सन् १९८८ मा दक्षिण कोरियामा आयोजना गरिएको ओलम्पिक प्रतियोगितामा पहिलो पटक भारोत्तोलन खेलमा सहभागी भएका थिए ।