काठमाडौं । ओमानमा आजदेखि सुरु हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले मलेसियाको सामना गर्दैछ ।
ओमानको मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजेदेखि सुरू हुनेछ । टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा यी दुई टोली हालसम्म नौ पटक आमने सामने भएका छन् । जसमा नेपालले आठ खेल जित्दा मलेसियाले एक खेल मात्र जितेको छ ।
आजको खेलमा पनि नेपालले मलेसियालाई हराउदै प्रतियोगिताको सुखद सुरुआत गर्न चाहन्छ । टि २० फर्म्याटमा हुने एसीसी प्रिमियर कपमा विभिन्न दश टोलीको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । त्यस्तै उक्त प्रतियोगताको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
आजै हुने समूह ए अन्र्तगतको अर्को खेलमा हङकङ र कतारवीच पनि प्रतिस्पर्धा हुनेछ । नेपालले आफनो दोस्रो खेल वैशाख १ गते कतारसँग खेल्नेछ भने तेस्रो खेल वैशाख ३ गते हङकङसँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम तथा चौथो खेल वैशाख ४ गते साउदी अरेबियासँग खेल्नेछ । उक्त प्रतियोगितामा आगामी वैशाख ९ गतेसम्म चल्नेछ ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित, गुल्सन झा, करण केसी, प्रतिश जिसी, कुशल भुर्तेल, सन्दीप जोरा विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।