बागमती । हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ ।
कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा बैंकको ब्याजले ती उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित भएको छ । हाल सो औद्योगिक क्षेत्रमा एक सय १५ उद्योग सञ्चालनमा छन् । ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
तीन ‘सिफ्ट’मा चल्ने उद्योग एक सिफ्टमा मात्र सञ्चालन भएका छन् । उद्योग क्षमताअनुसार सञ्चालन हुन नसक्दा मजदुर तथा कर्मचारी कटौतीमा परेका छन् ।
उक्त कार्यालयका प्रमुख भोजराज बिराडीका अनुसार कोरोना महामारीपछि परेकोे आर्थिक तथा व्यावसायिक मन्दीको प्रभाव यहाँका उद्योगमा परेको छ ।
आर्थिक मन्दीले सञ्चालन नभएका दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु गरिएको छ । कार्यालयका प्रमुख बिराडीले सम्झौता गर्ने एवं जमिन ओगट्ने काममात्र भएको तर उद्योग सञ्चालन नभएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । केही उद्योगको सम्झौता खारेज गर्दा कार्यालयविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर पनि भएको उनले बताए ।
औद्योगिक क्षेत्रमा स्थापना भएका एक सय ४७ मध्ये एक सय १५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा छन् । नौवटा उद्योग बन्द भएका तथा २३ वटा निर्माणाधीन छन् । उद्योगको अवस्था दयनीय भएकाले भाडा तिर्न समस्या परेको उद्योगीहरूको गुनासो छ ।
यहाँ सञ्चालित उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, उत्पादित सामग्री बिक्री नहुनु तथा आर्थिक मन्दीले उद्योगहरूको अवस्था नाजुक भएको उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू बताउँछन् । “अहिले मन्दी छ, पसल खाली हुँदै गएका छन्, उत्पादित सामान बिक्री हुँदैनन्, यो गम्भीर समस्या हो । उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको र उद्योगमा थप लगानी गर्न बैंकले ऋण दिँदैन,” हेटौँडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भने ।
औद्योगिक क्षेत्रमा निर्माण सामाग्री उद्योग पाँच, प्लाष्टिक सामग्री उद्योग २८, विद्युतीय सामग्री उद्योग तीन, खाद्यान्न तथा पेय पदार्थ उद्योग ११, फर्निचर सामग्री उद्योग छ वटा, इन्जिनीयरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकल सामग्रीतर्फ ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल उद्योगतर्फ एक, खानीजन्य उद्योगतर्फ तीन र अन्य उद्योगतर्फ १० वटा उद्योग छन् । यी उद्योगमा पाँच हजार मजदुरले रोजगारी पाएका छन् । विसं २०२० मा स्थापना भएको औद्योगिक क्षेत्र तीन हजार दुई सय २८ रोपनीमा फैलिएको छ ।