काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राखेका छन् ।
एशोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) का प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले अध्ययन, वैदेशिक रोजगारी, व्यवसायका साथै विविध कारणले विदेशिएका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बन्नुपर्ने धारणा राखे ।
यसप्रति आफूले चासो राख्ने गरेको उल्लेख गर्दै उनले आफू कार्यकारी तथा राजनीतिक भूमिकामा नभए पनि सरोकारवालालाई यस विषयमा निरन्तर सम्झाउने गरेको जानकारी पनि दिएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिए ।
अध्ययन होस् या विभिन्न प्रयोजनले विदेश जाने गरेका नेपालीहरूले आफू रहेको देशमा आर्जन गरेको सीप र ज्ञान स्वदेशमै आई त्यसलाई प्रयोगमा ल्याउने वातावरण बनाउन मुलुकका सम्बद्ध सबै क्षेत्र र व्यक्तिहरू लाग्नुपर्नेमा उनले जोड दिए ।
उनले नेपाली भाषा र संस्कृतिका माध्यमबाट विश्वमा रहेका नेपाली तथा नेपालीभाषीहरूलाई एकीकृत गर्ने एएनओको अभियानको प्रशंसा गर्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाए ।
त्यसअवसरमा राष्ट्रपति पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई नेपाली भाषाको तीर्थस्थल बनाउने अभियानमा आफू लागेको जानकारी पनि गराए । उनले विश्वका विभिन्न देशमा रहेका नेपालीभाषीहरू एकपटक यहाँ पुग्नैपर्ने धारणाको विकास गरी यसलाई जीवन्त राख्न भानु जन्मस्थललाई नेपाली भाषा र साहित्यको तीर्थस्थल बनाउनुपर्नेमा उनको जोड थियो ।
एएनओका अध्यक्ष डिल्ली अधिकारीले यस अभियानका लागि नेपाल सरकारबाट प्राप्त सहयोग र शुभेच्छाका लागि धन्यवाद व्यक्त गर्दै अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको अभियानका रूपमा संसारमा रहेका नेपालीमाझ पुर्याउने अठोट व्यक्त गरे ।
संस्थाले प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्ताहरूलाई नेपालमै आई लगानी गर्ने वातावरणका लागि प्रोत्साहित गर्ने पनि बताए ।
भेटमा संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव भट्टराई, संस्थापक सदस्यहरू केबी कार्की, ओम गुरुङ, डा. दामोदर पौडेलसहित सहभागी थिए ।
विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको गत चैत ६ गते थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो ।
विश्वका २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताको प्रतिनिधित्व रहेको भेलाले भुटानमा जन्मेर हाल अमेरिकामा बसोबास गर्दै आएका नेपालीमूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।