काठमाडौं । राजधानी काठमाडौंका ठमेल र दरबारमार्गपछि नयाँ बसपार्कलाई पनि २४ घण्टै खुलाउने चर्चा सुरु भएको छ ।
काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्क क्षेत्रलाई पनि २४ घण्टै खुलाउने बताए ।
मित्रनगर विकास तथा सुधार समिति आज नयाँ बसपार्कमा आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा बोल्दै ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्कलाई २४ घण्टै खुलाउने बताए ।
‘देशभरका मानिस आवतजावत गर्ने ठाउँ नयाँ बसपार्कलाई पनि २४ घण्टै सञ्चालन गर्नु जरुरी छ, वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग खुला गर्न लागिएको छ, त्यहाँको स्थितिलाई हेरेर नयाँ बसपार्क पनि २४ घण्टै सञ्चालन गर्छाैं, जसले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुन्छ,’ उनले भने ।
उनले बजार २४ घण्टै खुलाउँदा स्थानीयलाई असर पर्न नहुने उल्लेख गरे ।
वडाध्यक्ष तिवारीले अबको २ महिनाभित्र नयाँ बसपार्क आसपासका सडक कालोपत्रे भइसक्ने उल्लेख गरे । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ मा ठमेलसहित नयाँ बसपार्क समेत पर्दछ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ठमेल र नयाँ बसपार्कलाई एकआपसमा जोड्न सके मात्र नयाँबसपार्क क्षेत्रको अर्थतन्त्र चलायमान हुने बताए ।
‘रातको समयमा नयाँ बसपार्कमा सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले यस क्षेत्रको बजार २४ घण्टा खोल्नु जरुरी छ,’ उनले भने । मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष गंगा पन्तले नयाँबसपार्क क्षेत्रलाई सुन्दर र व्यवस्थित बनाउन समितिले काम गरिरहेको उल्लेख गरे ।
उनले नयाँबसपार्क क्षेत्रको विकृति विसंगति अन्त्यका लागि स्थानीय टोलबासी, तीनै तहका सरकार र प्रहरीबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । समितिले विगत वर्षमा ‘प्रथम नयाँ बसपार्क सडक महोत्सव’ समेत आयोजना गरेको थियो ।