काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड दिनुपर्ने बताएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको १०औं स्वास्थ्य तथा जनसंख्या क्षेत्रका वैज्ञानिकको शिखर सम्मेलनको आज समापन गर्दै स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यका क्षेत्रमा कम अनुसन्धान भएकाले त्यसमा जोड दिनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रको धेरै जोड उपचार र शिक्षामा दिएको उल्लेख गर्दै आजको विज्ञान र प्रविधिको युगमा हाम्रोजस्तो आर्थिक रुपले पछाडि परेको मुलुकका लागि अनुसन्धानको महत्त्व रहेको बताए ।
परिषद्लाई अझ जनशक्ति र स्रोतको आवश्यकतालाई ध्यान दिने भन्दै स्वास्थ्यमन्त्री यादवले परिषद्लाई प्रादेशिक तहमा विस्तार गरिने बताए । उनले सम्मेलनबाट निस्केका निष्कर्षलाई सरकारले पृष्ठपोषकका रूपमा लिएर स्वास्थ्य सम्बन्धी नीतिनिर्माण प्रक्रियामा स्थान दिने र अनुसन्धानलाई टेकेर अगाडि बढ्ने बताए ।
कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्न बजेट बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले परिषद् आफैंले अनुसन्धान गर्ने नभई नियमनकारीका रूपमा हुनुपर्ने भन्दै शिक्षण अस्पताललाई संस्थागत रूपमा अनुसन्धानमा ल्याउनुपर्नेमा जोड दिए । स्वास्थ्य सेवाको पहुँचमा ठीक भए पनि गुणस्तरमा चुकेको उल्लेख गर्दै सचिव पोखरेलले आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवाका बारेमा काम गर्नु आवश्यक रहेको बताए ।
परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले स्वास्थ्य क्षेत्रको खाली रहेको ठाउँमा अध्ययन अनुसन्धान हुनुपर्ने बताए । परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलनले स्वास्थ्य क्षेत्रको नीति निर्माणमा सहयोग मिल्ने छ भन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न अध्ययन अनुसन्धानकर्ताका ७६ मौखिक र २७३ पोस्टर प्रस्तुतीकरण गरिएको थियो ।
सम्मेलनमा विभिन्न १० विधामा अवार्ड समेत प्रदान गरिनेछ । सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरणतर्फ किरण आचार्य र पोस्टर प्रस्तुतीकरणमा प्रतीक्षा पौडेलले उत्कृष्ट अवार्ड पाए । सम्मेलनमा १ हजारभन्दा बढी अनुसन्धानकर्ता, चिकित्सक, जनस्वास्थ्यविद् लगायतको सहभागिता थियो ।