काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ सरकार अन्तर्गतका १६ वटा अस्पतालमा ३ हजार ५ सय २३ बेड निःशुल्क उपलब्ध गराएको छ ।
मन्त्रालयका अनुसार गरिब, विपन्न, बेवारिसे तथा असाहयहरूको उपचारका लागि बेड निःशुल्क उपलब्ध गराएको हो । वीर अस्पतालमा ७ सय, नारायणी अस्पतालमा २ सय ५५, कान्ति बाल अस्पतालमा २ सय ४८, गजेन्द्र नारायण अस्पतालमा १ सय, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० र भरतपुर अस्पतालमा ४ सय २० बेड निःशुल्क वितरण गरिएको छ ।
परोपकार प्रसूति तथा स्त्रीरोगमा ४ सय ५०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ सय, राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५०, भेरी अस्पतालमा ५०, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ९०, डडेलधुरा अस्पतालमा ३०, मानसिक अस्पताल, ललितपुरमा ४०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय ५०, कोसी अस्पतालमा ३ सय ३० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय ५० बेड निःशुल्क उपलब्ध गराएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असाहयहरूको उपचारमा १० प्रतिशत बेड निःशुल्क गर्नको लागि स्थानीय, प्रादेशिक र संघीयस्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई परिपत्रसमेत गरेको छ ।