खोटाङ । नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् ।
शुक्रबार साँझ सम्पन्न आठौं जिल्ला अधिवेशनले उनलाई अध्यक्ष चयन गरेको छ ।
अध्यक्षमा विजयी राईले ३३९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले १८७ मत पाएका प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताए । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौं जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित भएका थिए ।
पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य ३५८ मतसहित विजयी भएका छन् । ५ पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
१ उपसचिवका लागि ७ जनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भएका छन् । समावेशी उपसचिवमा कविता राई विजयी भएकी छन् । आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिएका छन् ।
१ जना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ २११ मतसहित विजयी भएका छन् । दलित कोटामा ४ जनाको प्रतिस्पर्धा भएको थियो । दलित महिला कोटामा रेखा रम्तेल १५० मत ल्याएर विजयी भएकी छन् । दलितमा ३ जनाको प्रतिस्पर्धा भएको थियो ।
खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भएका छन् । खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भएका छन् । ५ जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ ।