म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ ।
भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने ४३५ किलोमिटर लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो ।
गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्त्वपूर्ण मानिएको छ ।
पर्वतको मालढुंगादेखि म्याग्दी हँुदै मुस्ताङको कोरला नाकासम्मको २०२ किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना सुरु भएको हो । १४ वटा खण्डमध्ये हालसम्म ८ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख धु्रवकुमार झाले बताए ।
‘६ वटा खण्डमा ८५ किमी ग्राभेल र ४८ किमी सडक कालोपत्र भएको छ,’ उनले भने, ‘यस सडकमा १३ वटा पक्की पुल र ३ वटा बेलिब्रिज निर्माण भएको छ । ६ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् ।’
मुस्ताङको कैकु–खन्ती खण्डमा १६ किमी, खन्ती–टुकुचे–मार्फा खण्डमा ९ किमी आक्सफाल्ट प्रविधिको कालोपत्र भएको छ । मुस्ताङको घाँसा–कैकुखोला खण्डमा २ किमी, म्याग्दीको तिप्ल्याङ–तातोपानी खण्डमा ६ किमी, बेनी–गलेश्वर खण्डमा ४ किमी र गलेश्वर–बेगखोला खण्डमा ३ किमी डिबिएसडी प्रविधिको कालोपत्र भएको छ ।
मुस्ताङको जोमसोम बजार, काभ्रेभिर र मालढुंगा–बेनी खण्डको विभिन्न ठाउँमा ३ किमी बढी सडक ढलान भएको छ । मालढुंगा–बेनी सडकको मालढुंगा–लस्ती खण्डमा ६ किमी, बेगखोला–तिप्ल्याङ खण्डमा २ किमी र पोखरेबगर–तातोपानी खण्डमा १ किमी कालोपत्रको तयारी भएको छ । १३ किमी दूरीको जोमसोम–कागबेनी, तातोपानी–घाँसा खण्डमा ६ किमी, मार्फा–जोमसोम खण्डमा ६ किमी सडक पनि चालू आर्थिक वर्षभित्र नै कालोपत्र गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताए ।
कूल १० अर्ब लागत अनुमान गरिएको आयोजनाको हालसम्म करीब ७ अर्ब खर्च भएको जनाइएको छ ।