काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।
चालू आवका लागि पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ विनियोजन भएकोमा चैत मसान्तसम्मको ९ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
चालू आवका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट विनियोजन गरेको थियो । हालसम्मको कूल बजेट खर्च वार्षिक विनियोजनको ५१ दशमलव ९३ प्रतिशत अर्थात् ९ खर्ब ९ अर्ब ३९ करोड १४ लाख बराबर रहेको छ ।
चालूगत शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकोमा हालसम्म ५६ दशमलव ४१ प्रतिशत अर्थात् ६ खर्ब ४४ अर्ब २ करोड ५४ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकका ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकोमा ५४ दशमलव ६४ अर्थात् १ खर्ब ६७ अर्ब ९८ करोड ८६ लाख खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
बजेट खर्चमा मात्र नभई राजस्व संकलनको अवस्था पनि कमजोर देखिएको छ । चालू आवका लागि कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व संकलन गर्ने सरकारी लक्ष्य छ ।
चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५२ दशमलव ५ प्रतिशत अर्थात् ७ खर्ब ७३ अर्ब ३ करोड ६६ लाख असुली भएको छ । जसमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ५१ दशमलव ४१ प्रतिशत अर्थात् ६ खर्ब ७१ अर्ब ११ करोड ५६ लाख र गैरकरतर्फ ६५ दशमलव ७१ प्रतिशत अर्थात् ७६ अर्ब ९२ करोड ५६ लाख बराबर संकलन भएको छ ।
चालू आवका लागि सरकारले ४९ अर्ब ९४ करोड ३० लाख बराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा हालसम्म लक्ष्यको ५ दशमलव ५२ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड ८० लाख बराबर अनुदान लिइएको छ ।