काठमाडौं । एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा आज शनिबार भएको खेलमा जीतका लागि २११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७८ रनमा समेटियो ।
उसका लागि कप्तान मुहम्मद तनभिरले अर्धशतकीय पारी खेले । उनले ३३ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ६३ रन बनाए । मोहम्मद अहनाफले २३, हिमांशु राठोरले २२, अदनान मिर्जाले १९, कमरान खानले १८ रन बनाए । कतारका बाँकी ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।
नेपालका लागि ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुलसन झाले समान २/२ विकेट लिए भने कुशल मल्ल र अविनाश बोहोराले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई जितका लागि विशाल रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे । उनले कतारका कमरान खानको एकै ओभरमा छ छक्का प्रहार गर्दै भारतीय क्रिकेटर युवराज सिंहको नाममा रहेको कीर्तिमानी बराबरी गरे । १९ ओभरसम्म १७४ रनको अवस्थामा रहेको नेपाल ऐरीको ६ छक्काको सहयोगमा २१० रनको विशाल योगफल बनाउन सफल भएको थियो ।
युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्याण्ड विरुद्धको खेलमा बलर स्टुआर्ट बोर्डको ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए । कूल २१ बल खेलेका उनले ७ छक्का र ३ चौका प्रहार गरे । ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ६ चौकाको सहयोगमा ५२ रन बनाए । कुशल मल्लले १८ बल खेल्ने क्रममा ३ छक्का र २ चौकाको सहयोगमा ३५ रन बनाए । कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले ७, गलसन झा र विवेक यादवले ५/५ रनको योगदान दिए ।
कतारका लागि हिमांशु राठोर र मुसावर शाहले ३/३ विकेट लिए भने अमीर फारुकले १ विकेट लिए ।
जीतसँगै समूह ‘ए’मा रहेको नेपाल अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ । नेपालले २ खेलमा २ जीतसँगै ४ अंक बटुलेको छ । १ खेलमा १ जीतका साथ हङकङ दोस्रो, २ खेलमा १ जीत र १ हारका साथ मलेसिया तेस्रो, १ खेलमा १ हारका साथ साउदी अरेबिया चौथो र २ खेलमा २ हारका साथ कतार पाँचौं स्थानमा छ ।
समूह ‘बी’ २ खेलमा २ जीतका साथ यूनाइटेड अरब एमिरेट्स पहिलो स्थानमा छ भने २ खेलमा १ जीत र १ हारका साथ कुवेत दोस्रो स्थानमा छ । १ खेलमा १ जीतका साथ ओमान तेस्रो, २ खेलमा २ हारका साथ बहराइन चौथो र १ खेलमा १ हारका साथ कम्बोडिया पाँचौं स्थानमा छ ।