काठमाडौं । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ घण्टै खुला भएका छन् ।
ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज साँझ ठमेलको त्रिदेवीमार्गमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले २४ घण्टै बजार सञ्चालनको शुभारम्भ गरे ।
कार्यक्रममा गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्गको पर्यटनलाई चलायमान बनाउँदै देशको अर्थतन्त्रलाई सहयोग पुर्याउनका लागि २४ घण्टै बजार खुला गरिएको बताए । ‘ठमेल र दरबारमार्ग क्षेत्रको सुरक्षामा कहीँकतै कमी हुने छैन । प्रहरी प्रशासनसँगै यस क्षेत्रलाई सुरक्षित बनाउने दायित्व नागरिकको पनि उत्तिकै हो । हामी सबै मिलेर यसलाई निरन्तरता दिनुपर्छ,’ उनले भने ।
गृहमन्त्री लामिछानेले ठमेललाई ठमेलजस्तो र दरबारमार्गलाई दरबारमार्गजस्तो बनाउन प्रहरी प्रशासनसँगै स्थानीय जनसहभागिता आवश्यक रहेको उल्लेख गरे । पर्यटन र ठमेल पर्यायवाची भएकाले यसलाई जोगाउन सबै लाग्नुपर्ने उनको भनाइ छ ।
गृहमन्त्री लामिछानेले जुनसुकै शहर सुरक्षित भएको महसूस गराउन आमनागरिक निर्धक्क भएर हिँड्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै ठमेल र दरबारमार्गलाई निर्धक्क रूपमा हिँड्ने वातावरण निर्माणमा सरकार लागेको बताए । ‘युवा आए देशको परिवर्तन सम्भव छ’ भन्ने सन्देश दिन आफू लागिरहेको उनले स्पष्ट पारे ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले २४ घण्टै ठमेल र दरबारमार्गलाई सञ्चालन गरेर विश्व जगतलाई सकारात्मक सन्देश दिन खोजिएको बताए । उनले अभियानले देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
काठमाडौं–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टै सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आचारसंहितालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । उनले २४ घण्टै बजार सञ्चालनमा ल्याउँदा स्थानीयका समस्या तथा सुरक्षा व्यवस्थाका बारेमा बुझ्नुपर्ने उल्लेख गरे ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोना महामारीपछि शिथिल रहेको ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक अवस्थालाई चलायमान बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ठमेललाई नमूना पर्यटकीय नगरी बनाउने योजना अभियानले पूरा गर्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् ।
दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले १० वर्षदेखि ठमेल र दरबारमार्ग २४ घण्टै सञ्चालन गर्ने योजना अगाडि रहेकामा अहिले अघि बढेको भन्दै खुसी व्यक्त गरे । अभियानलाई बिस्तारै काठमाडौंका अन्य शहरमा पनि लैजानुपर्ने उनको भनाइ छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि लागू हुने गरी २४ घण्टै सञ्चालनका लागि आचारसंहिता निर्माण गरी लागू गरेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जीतेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनले ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन समयमा समेत व्यवसाय सञ्चालन गर्न सुरु गरेकाले सोही अनुसारको सुरक्षा व्यवस्था मजबुद बनाइएको बताए ।
‘जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहे पनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्ने गरी बजार खुला भएको छ,’ सीडीओ बस्नेतले भने । उनका अनुसार ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्ने गरी आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको छ ।
सीडीओ बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय वासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको जानकारी दिए ।