काठमाडौं । अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी छन् ।
वसन्त ऋतुको जारी आरोहणमा आरोही पेपरले विश्वको १०औं अग्लो हिमाल अन्नपूर्णको सफल आरोहण गरेकी हुन् ।
सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार ४७ वर्षीया महिला पेपरले शेर्पा पथप्रदर्शक मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज मध्याह्न १२ बजेर ७ मिनेटमा अन्नपूर्णको चुचुरो पुग्न सफल भएका जनाइएको छ । आफ्नो कम्पनीबाट गएका लगभग सबैले यो सिजनमा अन्नपूर्ण आरोहण गरेको अध्यक्ष शेर्पाले बताए ।
यसअघि १७ वर्षीय नेपाली आरोही निमा रिन्जी शेर्पाले पनि बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी जनाइएको छ । उनले अप्रिल १२ तारिखका दिन अपराह्न अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । दुवै आरोही सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आरोहणमा गएका थिए ।
२ आरोहीले बिना अक्सिजन अन्नपूर्ण हिमाल आरोहण गरेको जानकारी आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए । उनले भने, ‘अन्नपूर्ण–१ हिमालमा ‘रोपफिक्सिङ’को काम सफल भएसँगै धमाधम आरोहण भइरहेको छ । २ दिनको अवधिमा २ जनाले बिना अक्सिजन आरोहण गरेको जानकारी आएको छ, यसलाई हामी (विभाग) अफिसियली प्रमाणीकरण गर्न बाँकी छ ।’
२ वर्षभित्र विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी अष्ट्रेलियन आरोही पेपरले अन्नपूर्ण आरोहणसँगै ३ वटा ८ हजार मिटर अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्न सफल भएकी छन् । उनले यसपछि कञ्चनजंघा र मकालु हिमालको आरोहण गर्ने लक्ष्य रहेको छ ।
सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी थिइन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औं अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेको जनाइएको छ ।
सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औं अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन् । हालसम्म ६ जनाले मात्र अक्सिजन बिना विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेको जनाइन्छ ।
पर्यटन विभागका अनुसार यो याममा अन्नपूर्ण–१ हिमाल आरोहणका लागि ३ आरोही समूहका ११ महिला र १४ पुरुष गरी कूल २५ ले आरोहण अनुमति लिएका थिए ।