काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईतबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) को चुनावी रणनीति सार्वजनिक गर्दै सामाजिक खर्च बढाउने, पूर्वाधार विकास र भारतलाई विश्वव्यापी उत्पादन केन्द्र बनाउने वाचा गरेका छन् ।
मोदी तेस्रो ५ वर्षको कार्यकालका लागि सत्तामा फर्किने आशामा छन् । उनी तथा भाजपाका अन्य नेताहरूले बहुचरणको आमनिर्वाचन सुरु हुनु केही दिनअघि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा आफ्ना वाचाहरू सार्वजनिक गरे ।
मोदीले आफ्नो पार्टीको १० वर्षको शासनमा सुरु गरिएका सामाजिक कार्यक्रमहरूलाई विस्तार गर्ने वाचा गरे । यसमा स्वास्थ्य सेवा, खाना पकाउने ग्यास र निःशुल्क अन्नका साथै गरीबहरूका लागि लाखौं निःशुल्क घरहरू समावेश छन् । उनको सरकारले गरीब किसानहरूलाई प्रतिवर्ष ६ हजार भारतीय रुपैयाँ (७३ अमेरिकी डलर) प्रदान गरिरहेको छ ।
प्रधानमन्त्री मोदीले सन् २०१४ मा सत्तामा आएपछि आफ्नो सरकारको नीतिहरूले २५ करोड मानिसलाई गरीबीबाट बाहिर निकालेको बताए । १ अर्ब ४० करोडभन्दा धेरै जनसंख्या भएको भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो । भाजपाका अध्यक्ष जेपी नड्डाले १ प्रतिशतभन्दा कम भारतीय जनता अहिले चरम गरीबीमा बाँचिरहेको बताए ।
भारतमा मुलुकका भिन्नाभिन्नै हिस्सामा भिन्नाभिन्नै मितिमा निर्वाचन हुन्छ । निर्वाचन धेरै हप्तासम्म जारी रहन्छ । मुलुकको संसद्का लागि मतदान अप्रिल १९ देखि सुरु भएर जुन १ सम्म हुनेछ र नतिजा जुन ४ मा घोषणा गरिनेछ ।
अधिकांश सर्वेक्षणहरूले मोदी र भाजपाको जीतको भविष्यवाणी गरेका छन् । यद्यपि विपक्षी कांग्रेस पार्टीले मोदीले भारतको लोकतन्त्रलाई कमजोर बनाएको र धनीहरूको हितलाई समर्थन गरेको तर्क दिएको छ ।
मोदीले मुलुकभर व्यापक प्रचार गरिरहेका छन् र सन् २०२७ सम्ममा मुलुकको अर्थतन्त्रलाई करीब २७ खर्ब डलरबाट बढाएर ५० खर्ब डलरसम्म पुर्याउने वाचा गरेका छन् । उनले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको १०० वर्षको खुशीयाली मनाउँदै गर्दा सन् २०४७ सम्ममा भारतलाई विकसित मुलुक बन्ने मार्गमा लैजाने पनि वाचा गरेका छन् ।
उनले आईतबार आफ्नो पार्टीले भारतलाई औषधि, ऊर्जा, सेमीकन्डक्टर र पर्यटन उद्योगहरूको केन्द्रका रूपमा विकास गर्ने बताए । भारतले आफ्नो रेलवे, हवाईमार्ग र जलमार्गसहित पूर्वाधारको आधुनिकीकरण गर्ने पनि उनले बताए । उनले युवाहरूका लागि नोकरी बढाउने र युवा उद्यमीहरूका लागि सस्तो ऋणमा पहुँच पुर्याउने उल्लेख गरे । हिन्दूवादी नेताका रूपमा मोदी भारतमा अत्यन्त लोकप्रिय छन् र उनले द्रुत गतिमा आर्थिक विकास गरेका छन् ।