दाङ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औं बैठकमा दुई विधेयक पेश भएका छन् । जसमध्ये एक विधेयक फिर्ता भएकाे छ ।
लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता भएकाे हाे ।
प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक शनिबारको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको तर्फबाट आन्तरिक मामिलामन्त्री सन्तोष पाण्डेयले फिर्ता गर्ने प्रस्ताव पेस गरेका हुन् ।
मुख्यमन्त्री चौधरीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री पाण्डेयले प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरे ।
स्वास्थ्यमन्त्री राजु खनालले पेस गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका लागि पेस गरिएको छ ।
यो विधेयकमा सांसदहरू लोकीकुमारी विक, भगवती अधिकारी, विष्णु पन्थी, राजकुमार चौधरी, निमा गिरीले छलफलमा आफ्नो धारणा राख्दै विधेयकमा समावेश गरिनुपर्ने विषय टिपोट गराएका छन् ।
सभामुख तुलाराम घर्तीले दोस्रो अधिवेशनको २० औं बैठक साउन ८ गते बस्नेगरी १९ औं बैठकको समापन गरे ।