मोरङ । परराष्ट्रमन्त्री एनपी साउदले हरेक व्यक्तिले राष्ट्रिय गानमा आत्मसम्मान र गौरव महसुस गर्ने बताएका छन् ।
नेपाल वाङ्मय फाउन्डेसनले आयोजनामा शनिबार विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण समारोहमा मन्त्री साउदले हरेक देशको राष्ट्रिय गानले उक्त राष्ट्रको विम्बलाई प्रतिनिधि गर्ने भएकाले हरेकलाई आत्मसम्मान र गौरव महसुस गर्ने बताएका हुन् ।
'हरेक देशको राष्ट्रिय गानले राष्ट्र कुन स्थितिमा निर्माण भएको छ भन्ने विम्ब झल्काउँछ । राष्ट्रिय गानमा हरेकले आत्मसम्मान र गौरव महसुस गरेका हुन्छन्', उनले भने, 'राष्ट्रको भावी पदयात्रालाई पनि सीमित शब्दमा अभिव्यक्त गरिएको हुन्छ।'
उनले सबै राष्ट्र एकै किसिमले निर्माण नहुने भन्दै त्यसको विम्ब राष्ट्रिय गानमा झल्कने बताए ।
मन्त्री साउदले विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले सबै देशलाई एकाकार गर्न संयुक्त राष्ट्रसंघले काम गर्नुपर्छ भन्ने अवस्था सृजना गर्न खोजेको बताए ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइलाले राष्ट्रिय गानले एउटा राष्ट्रको निर्माण कसरी हुन्छ भन्ने जानकारी दिने बताउँदै विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले विश्वलाई भातृत्वको मार्गमा लैजान सहयोग पुर्याएकाे धारणा राखे ।
उनले नेपालको राष्ट्रिय गानले शान्तितर्फ प्रेरित गरेको उल्लेख गरे ।
पुस्तकमाथि टिप्पणी गर्दै पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले राष्ट्रको पहिचानलाई बैधानिकता दिने काम राष्ट्रिय गानले गर्ने बताए ।
उनले विश्वका राष्ट्रिय गान पुस्तकमा राष्ट्रिय गानको शीर्षक छुटेको बताउँदै पुनःप्रकाशन गर्दा त्यसलाई सच्याउन आग्रह गरे ।
गीतकार तथा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले विश्वका राष्ट्रिय गान पुस्तक सुन्दर संग्रहणीय र अद्वितीय उपहारका साथै सिंगै संसार चिहाउने एउटा आँखीझ्याल हुने बताए ।
पूर्वराज्यमन्त्री उमेश श्रेष्ठले विश्वका राष्ट्रिय गान पुस्तकलाई सर्वसुलभ बनाएर प्रत्येक नेपालीको हातमा पुर्याउनुपर्ने बताए ।
संयुक्त राष्ट्रसंघमा आबद्ध एक सय ९५ देशका राष्ट्रिय गानको नेपाली अनुवादमा आधारित विश्वका राष्ट्रिय गान पुस्तकको अनुवाद प्रदीप निरौलाले तयार गरेका हुन् ।