काठमाडौं । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी गरिएको छ ।
सरोङ आर्ट गुप्रले सोन्जा आर्ट ग्यालरीसँग सहकार्य गरी होटल आर्ट ठमेलमा ३ दिने कार्यशाला तथा कला प्रदर्शनी गरेको हो ।
प्रदर्शनीमा नेपाल, भारत र बंगलादेशका ५० कलाकारको कलाकृति राखिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले प्रदर्शनीको शुभारम्भ गरे । नेता पराजुलीले कला प्रदर्शनीको माध्यमबाट विभिन्न देशबीचको सम्बन्ध थप प्रगाढ भएको बताए । उनले यस्ता कला प्रदर्शनीले नेपालको कला क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उल्लेख गरे ।
सोन्जा आर्ट ग्यालरीका अध्यक्ष एवं होटल आर्ट ठमेलका सञ्चालक चिरञ्जीवी भट्टले नेपालको कला क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । सन् २००४ देखि सोन्जा आर्ट ग्यालरीले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहेको उनको भनाइ छ ।
बंगलादेशका वरिष्ठ फोटोग्राफर डा. इमरान विन युनुसले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु भारत र बंगलादेशी कलाकारका लागि खुसीको कुरा भएको प्रतिक्रिया दिए । ३ दिनसम्म चल्ने कला प्रदर्शनीमा बंगलादेशका वरिष्ठ कलाकार सफिक अहमद सजिव, अजिजुल कादिर, रफिया अख्तर, भारतीय वरिष्ठ कलाकार रेहेमान पटेल, डा. सुवया याम निला, नारायण सुकम्बर लगायतका चित्र राखिएका छन् ।
५ देशका ६ स्थानमा कला प्रदर्शन गरिसकेको सरोङ आर्ट गुप्रले सातौं कला प्रदर्शन नेपालमा गरेको गुप्रका अध्यक्ष नारगिस सोमाले जानकारी दिए । गुप्रले यसअघि जापान, श्रीलंका, बंगलादेश र भारतमा कला प्रदर्शन गरिसकेको छ ।