काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा उत्तीर्ण छात्रछात्रालाई साहस नेपालले सम्मान गरेको छ ।
सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो । सम्मानित १५ जनामध्ये २ जना ए प्लस, ७ जना ए, ४ जना बिप्लस, २ जनाले बि ल्याएका थिए ।
एसईईमा सफल दक्षिणकाली वडा नं ४ का सबै छात्रछात्रालाई प्रमाणपत्र र डायरी हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रकाश विशुन्केले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले अबको शिक्षा प्रविधिमैत्री रहेकोले विद्यार्थीहरूले त्यसतर्फ ध्यान दिन जरुरी रहेकोमा जोड दिए । विषयगत समितिमार्फत शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै विभिन्न कार्यक्रम अघि सारेको मेयर बस्नेतले बताए ।
सम्मान कार्यक्रमसँगै सिद्धार्थ बैङ्क लिमिटेड, फर्पिङ शाखाका प्रमुख उज्ज्वल खड्का क्षेत्रीले विद्यार्थीसँग ‘एसईई पछि के’ भन्ने उद्देश्यले आयोजित करियर काउन्सिलिङ कार्यक्रममा विद्यार्थीसँग अन्तर्क्रिया गरेका थिए ।
कार्यक्रममा, वडा नं ४ का जनप्रतिनिधि, युवा समाजसेवीलगायतको उपस्थिति थियो ।