टेकबहादुर बुढाथापा कर्णालीको जुम्लास्थित चन्दननाथ नगरपलिका वडा नं. २ का स्थायी बासिन्दा हुन् । हाल ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत बुढाथापाले निजामती सेवामा प्रवेश गरेकै तीन दशक भइसक्यो ।
२०५० सालमा जुम्लाको बहुमुखी क्याम्पसबाट शिक्षा संकायमा प्लस टु गरेका बुढाथापाले २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । २०५८ सालसम्म जुम्लाको डिभिजन सहकारी कार्यालय र जिल्ला विकास समिति कार्यालय, मुगुमा कार्यरत रहे ।
गृहजिल्ला जुम्लाको चन्दननाथ नगरपालिकाको सचिवको रूपमा करिब ९ महिना जति काम गरेपछि बढुवा भएर उनी पुनः २०६० सालदेखि ०६९ सालसम्म जुम्लाको डिभिजन सहकारी कार्यालयमा सहकारी प्रमुखको रूपमा कार्यरत रहे ।
२०७० सालमा फेरि सरुवा भएर काठमाडौंको यातायात व्यवस्था कार्यालय सानाठूला सवारीमा २ वर्ष काम गरे । बढुवाकै क्रममा उनी सहायक प्रमुख जिल्ला अधिकृतका रूपमा २०७४ सालमा जुम्ला नै फर्किए ।
स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतका रूपबाट जुम्लाको पातरसी गाउँपालिकामा केही समय सेवा गरेपछि बुढाथापा ललितपुरको कोन्ज्योसोम गाउँपालिका कार्यालयमा फर्किए । उनी यहाँ आएको १ वर्ष भयो । २०८५ मा उनले अवकाश पाउने छन् । निजामती कर्मचारी भए करिब २६ वर्ष बिताइसकेका बुढाथापासँग व्यवस्था डटकमका लागि प्रज्जवल तामाङले गरेको कुराकानीको सम्पादित अंश:
एक मुख्य प्रशासनिक अधिकारीको रूपमा कार्यरत हुनुहुन्छ, अहिले प्रशासकीय अधिकारीको रूपमा काम गर्दा कस्ता चुनौती छन् ?
प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारको प्रतिनिधिको रूपमा रहने व्यवस्थामा छ र गाउँसभाको सचिवको रूपमा काम गर्ने कानुनी प्रावधान पनि छ । प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका र कर्मचारीहरूको तर्फबाट एउटा माध्यमको रूपमा काम गर्नुपर्ने हुँदा केही चुनौतीहरू हुन्छन् । निजामती सेवा ऐन नियमले कार्यसम्पादन निर्धारित गरेको हुन्छ । थप स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार स्पष्ट पारेको हुन्छ । त्यसैभित्र रहेर काम कर्तव्य र कार्य सम्पादन गर्ने गर्छौं ।
अर्को कुरा, जनप्रतिनिधिमूलक संस्थामा काम गर्ने कर्मचारीहरूलाई स्वाभाविक रूपमा चुनौती हुन्छ । हाम्रा निर्देशन मार्ग भनेको संविधान, ऐन नियम कार्यविधि, मापदण्ड निर्देशिकाहरू नै हुन् । तीअन्तर्गत नै हामीले कार्य सम्पादन गर्ने हो । कतिपय संघीय कानुनलाई आधार बनाएर कार्यान्वयन गरेर राखेको छौं भने कतिपय त्यसप्रति भित्र रहेर स्थानीय कार्यान्वयनमा सहज हुनको लागि स्थायी कानुन बनाएर पनि अगाडि बढेको अवस्था छ ।
जनअपेक्षा, चाहना, सेवा तथा सिफारिसका कुराहरूमा दुविधा हुन सक्ने भएकोले गम्भीर भएर काम गर्नुपर्ने हुन्छ । वडागत तहबाटै सामूहिक सुनुवाइ गर्ने, स्वतन्त्र व्यक्तिबाट सबै तह र तप्काका व्यक्तिहरूको अभिमत बुझेर प्रतिक्रियागत काम गर्ने गरिन्छ ।
अर्को महत्त्वपूर्ण कुरा भनेको- कोन्ज्योसोम गाउँपालिकाले कार्यसञ्चालन पात्राे (क्यालेन्डर ) जारी गरेको छ । प्रत्येक शाखाको, समग्र पालिकाको कार्यक्रमहरूको तालिका तय गरेको छ र साथसाथै वडाका गतिविधिसमेत पत्रमा समेटेको छ । त्यही पत्रको हिसाबमा कार्यान्वयन गर्दै जाँदा आइपरेको समस्याहरूको पनि बैठक बसेर सुधार गर्दै जाने भन्ने प्रतिबद्धता गरेका छौं । यसबाट परिणाम चाहिं यो आर्थिक वर्षभन्दा अर्को आगामी आर्थिक वर्षमा अत्यन्त राम्रो तरिकाले काम कारवाहीहरू गर्न सकिने र आर्थिक वर्षको नीति तथा कार्याक्रममा कार्यान्वयन भएको देख्न सकिन्छ ।
संगठनभित्र प्रशासनिक प्रकियाहरू र प्रणालीहरूलाई सफलतापूर्वक संघ, प्रदेश र गाउँपालिकाका स्तरबाट व्यवस्थित हुन नसकेको सुन्नमा आएको छ, हो ?
हाम्रो कोन्ज्योसोम गाउँपालिकामा कर्मचारीहरूबीच अत्यन्तै सद्भाव छ । समझदारी छ । एकअर्कालाई सहयोग गर्छौं । समन्वयात्मक ढंगले कार्यान्वयन गरेको छौं । यहाँ हुनुभएका जनप्रतिनिधि र कर्मचारीरूबीच कुनै पनि अन्यौल, असमानता छैन । सबै पोष्टका कर्मचारीबीच निकै समन्वयात्मक ढंगबाट कामकाज भइरहेको छ । संघको कुरा गर्दाचाहिं संघीय निजामती ऐन नआएको भएर निजामती कर्मचारीहरूको मनोबल गिरेको देखिन्छ । निजामती प्रशासन ढल्ने हो कि भनेर चिन्ता गरेको पनि सुन्नमा पाइन्छ । अर्को कुरा स्थानीय तहमा संघीय निजामती ऐन नआएको भएर अवैज्ञानिक कर्मचारी समायोजनबाट धेरै वृद्धि विकास सुशासनको प्रत्याभूति दिलाउने, एउटा सक्षम नागरिक प्रशासनको प्रत्याभूति दिलाउनजस्ता कुराहरू धेरै अन्यौलमा रहेको छ । तथापि निजामती कर्मचारीरूले आफूले गर्नुपर्ने कर्तव्य अथवा दायित्व आजसम्म पनि निर्वाह गरेकै छन् । संघीय ऐन सक्दो चाँडो आयो भने कर्मचारीका धेरैवटा समस्याहरू समाधान हुनेछन् भन्ने लाग्छ ।
प्रशासनिक कार्य चुस्त र दुरुस्त हुन सकेन भनेर सेवाग्राहीबाट गुनासो सुन्न पाइन्छ, के कारण होला र सुधार गर्नका लागि के कस्तो पहल हुन आवश्यक छ ?
पहिलो कुरा त नेपाल सरकारले गठन गरेका आयोगहरूको प्रतिवेदनको कार्यान्वयन हुँदैन । संघ, प्रदेश र स्थानीय तहमा एउटै सेवा शर्तमा प्रवेश गरेका कर्मचारीहरूको वृद्धि विकास र सेवासुविधा तल्लो तहको कर्मचारीमाथि विभेद गरेको पनि देखिन्छ । कर्मचारीलाई शासकको रूपमा नभएर सेवकको रूपमा काम गराउने वातावरण हुनुपर्याे । नागरिक प्रशासनको रूपमा परिवर्तन गर्नका लागि धेरै ठूलो सुधारको आवश्यक रहेको छ । यस किसिमको सुधारको लागि प्रतिवेदन, आयोगहरू, सुझावहरू सकेसम्म कार्यान्वयनको पक्षमा जोड दिनुपर्ने देखिन्छ । साथै निजामती ट्रेड युनियनहरूका नेताहरूले पनि ऐन जारी गराउने प्रभावकारी भूमिका निर्वाह गरिदिनु पर्याे ।
संगठनभित्र त विभिन्न विभाग र टोलीहरू हुन्छन्, उनीहरूको बीचको प्रभावकारी सञ्चार र समन्वयलाई कसरी सुनिश्चित गर्नुहुन्छ ?
स्थानीय सरकारको रूपमा रहेका गाउँपालिका, नगरपालिकाहरूमा भएका विभिन्न शाखाहरू, शाखाका प्रमुखहरूको अन्तर शाखा समन्वय गर्ने काम हुन्छ, जसको लागि गाउँसभाबाट पारित गरेको आन्तरिक नियन्त्रण प्रणाली जारी गरेका छौं । त्यो आन्तरिक नियन्त्रण प्रणालीको आधारमा शाखाको कामहरूलाई समन्यात्मक रूपबाट अगाडि बढाउने गरिन्छ । जस्तै, वार्षिक बैठक बस्ने गरिन्छ । कार्यपालिकाको बैठकको भोलिपल्ट निर्णयहरूलाई कार्यान्वयन गर्नु पर्ने हुन्छ । हाम्रो वार्षिक कार्य सञ्चालनअनुसारको कार्यक्रमहरू सञ्चालन भयो कि भएन भनेर समीक्षा गर्नुपर्ने हुन्छ । केही समस्याहरू आएको छ भने ती समस्याहरूको समाधान बारे पनि छलफल गर्नु पर्ने हुन्छ । आगामी कार्य योजना बनाएर अगाडि बढ्ने गरिन्छ ।
तपाईंले नेतृत्व गर्नुभएको सफल परियोजना वा प्रशासनिक सुधार पहलको उदाहरण पनि छ कि ?
कुन्ज्योसोम गाउँपालिकाले कानुनमा व्यवस्था भएको केही प्रभावकारी रूपमा कार्यान्वयन र सम्झौता गरेको छ । जस्तै, सूचनाको हकको प्रत्याभूति गराउने, त्यसको आयोगले विवरण सार्वजनीककरण गर्ने, सुनुवाइ गरेर वडास्तरको जनतालाई पनि गाउँपालिकाको कार्यक्रम, योजना, कुनमा कति बजेट दियो कति खर्च भयो, जनताको गुनासो, सेवाबारे अभिमत लिने कार्य गरेको छ । जनता आफैंले कर्मचारीहरूको गतिविधिबारे कुरा राख्छन्, सुनुवाइ हुन्छ । कार्यहरू सम्पन्न नभएको खण्डमा स्पष्टिकरणको माग गरेर फैसला गर्ने प्रवृत्ति छ । सबैभन्दा महत्त्वपूर्ण भूमिका पात्र सञ्चालनले खेलेको छ । गएको जेष्ठ महिनादेखि लागू भएको पात्रले सबै कार्यक्रम तथा गाउँपालिकको योजनाहरूबारे तालिका मिलाएको छ । पात्रमा लेखेको समयमा कार्यमा रोकतोक देखिएमा बैठक राखेर स्पष्टिकरणको माग गरिनेछ ।
साथै मचाहिं टिमवर्कमा विश्वास गर्ने व्यक्ति हो । एउटा कार्यालय प्रमुखले व्यवस्थापकको भूमिका निर्वाह गर्नुपर्छ । उत्प्रेरित गराउनको लागि व्यावहारिक, वैज्ञानिक कार्ययोजना र कार्यतालिका बनाएर टिमवर्कको रूपमा विश्वास गरेर काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।
निजामती सेवा ऐन नआएको कारण कर्मचारी अल्छी भएका हुन् ?
यतिको लामो समय भइसक्यो राज्यले निजामती ऐन ल्याउन सकेको छैन । निजामती ऐन ल्याउन नसक्नुको कारणले कर्मचारीहरूमा एक खालको विचलन, वितृष्णा र निराशा देखिएको छ । यसले कार्य सम्पादनमा पनि नकारात्मक असर परेको छ । जसको कारण आमजनताले सेवा छिटो छरितो पाउन नसकेको अवस्था छ । भ्रष्टाचार न्यूनीकरण गर्ने कुराहरू, पारदर्शिताका कुराहरू सूचनाको हक प्रत्याभूति गर्ने कुराहरूमा कर्मचारीहरू उद्धेलित हुनुको सट्टा बढी जिम्मेवार हुनुपर्छ । कर्मचारी भनेको पनि एउटा जिम्मेवार नागरिक हो । अवकाश प्राप्त भएपछि नागरिक नै हुने हो । त्यसैले देशको सुशासनको प्रत्याभूति ल्याउनको लागि कर्मचारीले पनि आफ्नो स्तरको कार्य सम्पदानमा झल्को दिनु पर्दछ र सरकारले पनि ढिलो नगरी नियम ऐन कानुनलाई लागू गर्नु पर्दछ । साथै कर्मचारी आफैंले पनि आचरण, व्यवहार र कार्यगतका कुरामा ध्यान दियो भने आफैं परिवर्तन हुँदै आउने हो ।
गाउँपालिकालाई मजबुत बनाउनको लागि अन्य कार्यकारीसँग कसरी सहकार्य गर्नु हुन्छ ?
हाम्रो बोर्ड हुन्छ, गाउँसभाको, त्यसपछि गाउँ कार्यपालिका भन्ने हुन्छ । गाउँसभाले पारित गरेको वार्षिक बजेट नीती, तथा कार्यक्रम, संगठन, संरचनाहरूमा जनशक्ति थप्नु परेमा निर्णय गरेर प्रदेश सरकारसँग स्वीकृति लिएर सहकार्य गरिने गरिन्छ ।
संगठनात्मक लक्ष्य र उद्देश्यहरू अघि बढाउन कोन्ज्योसम गाउँपालिकामा जनशक्तिको अवस्था कस्तो छ ?
हामीसँग पशु चिकित्सा , शिक्षाको ७ औं तहको अधिकृत, संघीय सेवाको लेखा अधिकृत, सम्पूर्ण शाखा प्रमुखहरू हुनुहुन्छ । अहिलेकाे अवस्थामा कोन्ज्योसोम गाउँपालिका मजबुत छ र योग्य जनशक्ति छ ।
तपाईंको विचारमा प्रमुख प्रशासकीय अधिकारीसँग हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण के हो जस्तो लाग्छ ?
प्रमुख प्रशासकीय अधकिृतले कार्यस्थलमा वातावरण सिर्जना गराउन जान्नुपर्छ । कार्यको सम्पादनको सफलता, कुसफलता गराउने, कर्मचारीको टिमहरूलाई उत्प्रेरित-प्रोत्साहित गराउने जस्ता कुराहरू जान्नु पर्दछ । प्रमुख प्रशासकीय अधिकृत चाहिं समायोजन गरेर सुशासन सहननायकर्ताको भूमिकामा रहनुपर्छ भन्ने मलाई लाग्छ । व्यावहारिक र वैज्ञानिक कार्य विभाजन गर्नु पनि एउटा प्रमुख प्रशासकीयको महत्त्वपूर्ण गुण हो ।
विगत २६ वर्षदेखि सेवामा हुनुहुन्छ, तपाईंले यतिका वर्षमा के कमाउनु भयो ?
नेपालभरिको यस्तो माथिल्लो तहको कर्मचारीमध्ये म एक्लो हुँला, जसको घर छैन । मेरो पेसा भनेको पनि यही जागिर हो । मेरो प्राथमिकता पनि कार्यालय हो । यो जागिरबाहेक मेरो अरू कुनै पनि दोस्रो पेसा, कारोबार व्यवसाय छैन । जुन दिनदेखि निजामती सेवामा प्रवेश गरी सपथ खाएँ त्यही दिनदेखि इमान्दारीपूर्वक कर्तव्य निभाइरहेको छु । त्यो सपथलाई आत्मसाथ गरेर हिँडेको कर्मचारी हुँ म ।
मैले जहाँ-जहाँ काम गरे त्यहाँको सेवाग्राहीहरूले मेरो इमान्दारिता र मेरो मेहनतको कदर गरेका छन् । अझै पनि सेवाग्राहीहरूले मेरो बारेमा ‘यो हाकिमले प्रदान गरेको सेवाशैली निकै राम्रो थियो र यो हाकिमले एक रुपैयाँ आयो तथा काममा अल्छी र ढिलाइ गर्याे भनेर भनेको छैन । मलाई लाग्छ मेरो आत्मसन्तुष्टि नै कमाइ हो ।