झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पेय पदार्थ उत्पादन गरी ३५ मुलुकमा निर्यात गर्दै आएको झापास्थित सिंगापुर बेभरेज प्रालिको आज निरीक्षण गरेका छन् ।
मेचीनगर–१४ दुहागढीस्थित प्रालिको कारखानामा उनले हलुका पेय पदार्थ उत्पादन हुने प्रविधि, प्रक्रिया र व्यापारबारे जानकारी लिए ।
सभामुख घिमिरेले उद्योगले आफ्ना उत्पादन विदेशमा निर्यात गरिरहेको विषयमा जिज्ञासा राखेका थिए । उद्योगले झेलिरहेका समस्या, राज्यले गर्नुपर्ने सहयोग र कानूनी व्यवस्थाको बारेमा उनले चासो व्यक्त गरेका प्रबन्ध निर्देशक आशिष शर्माले बताए ।
उनले पहाडको लहरे आँप, तराईको आँप, अनारस, खरबुजा लगायतका स्वदेशमै उत्पादन हुने फलफूलको रसलाई कच्चा पदार्थको रूपमा प्रयोग बढाउन सुझाव दिए । चर्को प्रतिस्पर्धाको आजको युगमा नेपाली उत्पादनले विश्व बजारमा लोकप्रियता हासिल गर्नु गर्वको विषय भएको सभामुख घिमिरेले बताए ।
शर्माले छोटो अवधिमै उद्योगका उत्पादनलाई युरोप र अमेरिका लगायत विभिन्न ३५ मुलुकमा पुर्याउन सफलता प्राप्त भएको बताए । उद्योगले जर्मनी मशिनबाट विश्वस्तरीय पेय पदार्थका विभिन्न ब्रान्डहरू उत्पादन गरिरहेको जानकारी दिँदै जिरा मसलाको स्वाद रहेको जिरु हाल भारत, अस्ट्रेलिया र अमेरिकामा निर्यात भइरहेको उनको भनाइ छ ।
सन् २०१६ मा स्थापना भएको प्रालिले उत्पादन गरेका जिरु, निम्बुपानी लगायतका ब्रान्डले कोकाकोलाजस्ता बहुर्राष्ट्रिय कम्पनीबाट उत्पादित ब्रान्डसँग बजारमा प्रतिस्पर्धा गरिरहेको प्रबन्ध निर्देशक शर्माले सभामुख घिमिरेलाई अवगत गराए ।
सभामुख घिमिरेले आजै मेचीनगरको एनएमसी नमूना कृषि परियोजनाको अवलोकन गरे । मेचीनगर–१४ मा १६ बिघा जग्गामा फैलिएको परियोजनामा झापाकै ठूलो गाई फार्म सञ्चालित छ ।