काठमाडौं । कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ ।
संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मंगलबार करीब २ वर्षको बराबर २५४ मिलिमिटरसम्म वर्षा भएपछि ६ लेन भएको एक्सप्रेसवेमा जाममा फसेका गाडीहरूको विशाल लाइन देखिएको थियो ।
प्रहरीका अनुसार मुलुकका ७ इमिरेटमध्येको एक रास अल–खैमामा बाढीमा बगेर कारमा सवार ७० वर्षीय व्यक्तिको मृत्यु भएको छ । एक अधिकारीले यात्रीहरूलाई अत्यावश्यक नभएसम्म अन्तर्राष्ट्रिय यातायातको दृष्टिले विश्वको सबैभन्दा व्यस्त दुबई विमानस्थलमा नआउन चेतावनी दिएका छन् ।
दुबई विमानस्थलका प्रवक्ताले भने, ‘उडानहरूमा ढिलाइ र मार्ग परिवर्तन जारी छ, हामी अत्यन्त चुनौतीपूर्ण अवस्थामा सकेसम्म चाँडो उडानहरू सञ्चालन गर्न अथक प्रयास गरिरहेका छौं ।’
पहुँच मार्गहरू पानीले भरिएको र केही मेट्रो सेवा निलम्बन भएपछि कर्मचारी र यात्रीहरूले आउन र जान संघर्ष गर्नुपरेका कारण दुबईको प्रमुख इमिरेट्स एयरलाइनले बुधबारको सबै ‘चेक–इन’ रद्द गरेको छ ।
विमानस्थलमा ट्रयाक्सीहरूको लामो लाइन लागेको छ र ढिलाइले यात्रीहरू यताउता गरिरहेका छन् । मंगलबारको मुसलधारे वर्षाले धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् ।
ओमानमा वितण्डा मच्चाएपछि सोमबार र मंगलबार संयुक्त अरब इमिरेट्स र बहराइनमा आँधी आएको थियो । ओमानमा बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । चरम मौसमी घटनाहरूमा जलवायु परिवर्तनको भूमिकाको आकलन गर्ने विशेषज्ञ क्लाइमेटोलोजिस्ट फ्रेडरिक ओट्टोले विश्वव्यापी तापक्रमले आँधीलाई अझ खराब बनाएको हुनसक्ने अत्यन्त सम्भावना रहेको बताए ।
आधिकारिक सञ्चारमाध्यमका अनुसार सन् १९७१ मा संयुक्त अरब इमिरेट्सको स्थापनाअघि सन् १९४९ मा रेकर्ड वर्षा सुरु गरिएयता यो सबैभन्दा ठूलो वर्षा थियो ।