काठमाडौं । राजधानीमा जारी वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई हराउँदै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा गण्डकीले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो ।
जीतसँगै गण्डकीले ३ खेलमा २ अंक बटुलेको छ । यसअघि गण्डकी लुम्बिनीसँग ७ विकेट र बागमती प्रदेशसँग ६७ रनले पराजित भएको थियो ।
पहिलो खेलमा पराजित भएको मधेशको समान ३ खेलबाट ४ अंक रहेको छ । मधेशले बागमतीलाई ६ विकेट र लुम्बिनीलाई २७ रनले हराएको थियो । आजको खेलमा मधेशले गण्डकीलाई जीतका लागि १०३ रनको लक्ष्य दिएको थियो ।
जवाफमा गण्डकीले १६ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ५१ बलमा ३ चौका र १ छक्काको मद्दतले अविजित ४९ रन बनाएका हुन् । यसैगरी ईश्वर क्षेत्रीले ३२ रन बनाए भने दीपक डुम्रेले ११ रन जोडे ।
मधेशका लागि विशाल पटेलले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०२ रनको योगफल बनाएको थियो । उसका लागि विशाल शुस्लिंगले २४ रन बनाए भने विशाल पटेलले २२ रन जोडे । त्यसैगरी मायन यादवले १८, प्रदीप पासवानले १४ तथा अर्निको यादवले १३ रन बनाए ।
गण्डकीका लागि कप्तान विपीन खत्रीले ४ विकेट लिँदा सुवास भण्डारीले २ विकेट झारे । कमल परियार र सन्दीप क्षेत्रीले समान १/१ विकेट लिए ।